लाइफ केयर डिष्ट्रिब्यूटरको व्यापार ४७ प्रतिशतले घट्यो, २ अर्बको मात्रै कारोबार



काठमाडौं । लाइफ केयर डिष्ट्रिब्यूटर प्रालिको व्यापार ४७ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ३० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा २ अर्ब १२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । साथै, सन् २०२० मा २ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०११ मा दर्ता भएको कम्पनीले विभिन्न वस्तु आयात गरी एफएमसीजी प्रोडक्टको व्यापार गर्दै आएको छ । कम्पनीले विश्वका ६ वटा कम्पनीले उत्पादन गरेको एक सयभन्दा बढी प्रकारका वस्तु बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एफोर रेटिङ पाएको छ । सन् २०२१ को डिसेम्बरदेखि मोन्डेलेज इन्डिया फुड प्रालिको उत्पादन बन्द भएपछि कम्पनीको व्यापारमा कमी आएको जनाएको छ।

सन् २०२१ मा स्यानिटाइजर, ह्यान्डवास, साबुन आदि उच्च माग थियो । जसले गर्दा व्यापारमा उछाल आएको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२२ मा ४।३१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ६।४८ प्रतिशतले नाफा कमाएको थियो ।

सन् २०२२ मा आर्थिक मन्दीले बजारमा माग कम हुँदा व्यापारमा प्रभाव परेको कम्पनीको भनाइ छ । साथै, बजारमा मुद्रास्फिति र आयातको भन्सार दर बढ्दा एफएमसीजीको मूल्य बढेको उल्लेख छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ८२ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापार घट्दो क्रममा रहेको जनाएको छ।

कम्पनीले विभिन्न देशबाट एफएमसीजी वस्तु आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । जमुना अग्रवाल र सौरभ गर्गको स्वामित्व रहेको कम्पनीको देशभर एक सयभन्दा बढी स्टकिस्ट/सब-डिलर छन् ।


क्लिकमान्डु