कालिमाटीको जिलेट सहकारीका सञ्चालक १ वर्षदेखि फरार, ४ करोड दाबी गर्दै मुद्दा दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा रहेको जिलेट बचत तथा ऋण सहकारी संस्थाका लेखापाल गिता शर्माविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

३ करोड ९३ लाख ९७ हजार ५०८ रुपैयाँ बिगो माग दाबी गर्दै सरकारी वकिलको कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

उक्त रकम सहकारीको लेखापल शर्मा र सहकारीका सञ्चालकहरुबाट भराउन अभियोगपत्रमा माग दाबी गरिएको छ।

उक्त सहकारीको अध्यक्षमा राम गोपाल महर्जन, सचिव ओम कुमारी शर्मा, उपाध्यक्ष नेत्र खड्का, कोषाध्यक्ष नारायण धेवी डंगोल, सदस्य रविन्द्र महर्जन र ईन्द्रमान श्रेष्ठ रहेका छन् ।

सहकारीले आकर्षक ब्याज दिने भनेको र पैसा फिर्ता दिने बेलामा संस्था बन्द गरेर सञ्चालक फरार रहेको पीडितको भनाइ छ।

सहकारीबाट ठगिएपछि बचतकर्ताहरुले उजुरी दिएका थिए ।

सहकारीका लेखापाल गीता शर्माले प्रहरीसमक्ष दिएको बयानमा कोरोना महामारी सुरु हुनुअघि संस्था राम्रोसँग सञ्चालनमा रहेको र कोराना पछि बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था आएको बताएकी छन्।

२०७६ सालपछि सहकारीबाट पैसा नपाएपछि बचतकर्ताले उजुरी दिएको उनको भनाइ छ । बचतकर्ताको बचत समयमा नै फिर्ता नगर्नुमा आफ्नो कुनै दोष नरहेको उनले बयानमा भनेकी छन् ।

‘उक्त रकम दिनु पर्नेमा संचालक समितिका पदाधिकारीहरु २०७६ सालमा निर्वाचित भएका सहकारी संस्थाका सञ्चालक समितिका सदस्य राम गोपाल महर्जन, नेत्र राज खड्का, नारायण देवी डंगोल, राजुमान डंगोल, इन्द्रमान श्रेष्ठ, रविन्द्र महर्जन र सचिव ओम कुमारी शर्माको हो’ उनले बयानमा भनेकी छिन्, ‘जाहेरवालाहरुले बचत गरेको उल्लेखित रकम फिर्ता गर्ने जिम्मेवारी निजहरु समेतको हो, जाहेरवालाहरुले बचत गरेको जाहेरी दरखास्तमा उल्लेखित रकम के कसरी के कहाँ हिनामिना दुरुपयोग भएको छ सो सम्वन्धमा मलाई कुनै जानकारी छैन । निजहरुलाई नै जानकारी होला मैले जिलेट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको लेखापाल पदमा मनोनित भए पश्चात मैले बचतकर्ताहरुको कुनै पनि रकम हिनामिना गरेको छैन । म समेत उक्त सहकारी संस्थाको लेखापाल भएको हुँदा जाहेरवालाहरुले मेरो नाममा समेत जाहेरी दरखास्त पेश गरेको हुनुपर्दछ ।’

आफूले लेखापालको रुपमा काम गर्दा संचालक समितिमा संस्थाका अध्यक्ष राम गोपाल महर्जन, उपाध्यक्ष नेत्र राज खड्का, कोषाध्यक्ष नारायण देवी डंगोल, सचिब ओम कुमारी शर्मा, सदस्यहरु राजुमान डंगोल, इन्द्रमान श्रेष्ठले, रविन्द्र महर्जन रहेको उनको भनाइ छ ।

उक्त संस्था विगत १ वर्षदेखि पूर्ण रुपमा बन्द रहेको छ । आफू सुत्केरी बिदामा बसेको समयमा सञ्चालकहरु संस्था बन्द गरेर हिँडेको उनले बयान दिएकी छिन् । उक्त सहकारी बन्द भएपछि सञ्चालक समितिसँग सम्पर्क गर्दा सम्पर्क हुन नसकेको उनको भनाइ छ ।


क्लिकमान्डु