पूर्णिमाले गरिन् पाकिस्तानको माउन्ट के टु हिमालको सफल आरोहण
काठमाडौं । पर्वतारोही पूर्णिमा श्रेष्ठले पाकिस्तानको माउन्ट के टू हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् । श्रेष्ठले बिहीबार माउन्ट के टुको आरोहण गरेकी हुन् ।
पाकिस्तानमा रहेको विश्वको दोस्रो अग्लो माउन्ट के टूको उचाई ८ हजार ६११ मिटर छ । यो सगरमाथापछिको अग्लो हिमाल हो ।
करिब डेढ महिनादेखि पाकिस्तानमा रहेकी श्रेष्ठले खराब मौसमका कारण समयमा आरोहण गर्न सकेकी थिइनन् ।
श्रेष्ठले यसअघि सर्वोच्च शिखर सगरमाथासहित मनास्लु, अन्नपूर्ण, धवलागिरि, कञ्चनजंघालगायतका शिखर आरोहण गरिसकेकी छन् । गोरखा आरुघाटकी श्रेष्ठ पेसाले फोटो पत्रकार हुन् ।