बुटवलमा निर्यातमुखी कृषि थोक बजार स्थापना गरिने, २ अर्ब लागत



काठमाडौं । सरकारले बुटवल उपमहानगरपालिकामा निर्यातमुखी कृषि थोक बजार स्थापना गर्ने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको कृषि विभागको कृषि पूर्वाधार विकास तथा यान्त्रिकीकरण प्रवद्र्धन केन्द्र (सिएआईडिएमपी)ले बुटवल उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित सेग्लार-कर्साघाट क्षेत्रमा निर्यातमुखी कृषि थोक बजार स्थापना गर्न प्रस्ताव गरेको हो ।

यो बजारलाई नेदरल्यान्ड सरकारको अन्तर्राष्ट्रिय सहयोग लगानीअन्तर्गतको कार्यक्रम डभलप टु बिल्ड कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष- इन्टरनेसनल फन्ड फर एग्रिकल्चरल डेभलपमेन्ट (आईएफएडी)ले गर्ने आर्थिक सहयोगमा निर्माण गरिने आयोजनाको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको लागत २ अर्बभन्दा धेरै हुनेछ । नेदरल्यान्ड सरकारलाई नेपाल सरकारले विगतमा गरेको आधुनिक प्रविधियुक्त कृषि बजार निर्माणको अनुरोधअनुसार नै सन् २०१९ डिसेम्बर डिसेम्बर १७ मा भएको सम्झौताअनुरुप यो बजार स्थापना गरिन लागिएको हो । सम्झौताअनुसार पहिलो र दोस्रो चरणको सभाव्यता अध्ययनका लागि अनुदान सहयोगको पनि सम्झौता भएको थियो ।

बुटवलमा बन्ने यो बजार १२.४७ हेक्टर क्षेत्रफलमा फैलिएको हुनेछ । कुल क्षेत्रफलमध्ये ४.३२ हेक्टर थोक बजार क्षेत्र, ४.५९ हेक्टर संकलन केन्द्रको क्षेत्र, १.५२ हेक्टर सामान्य सुविधाहरुका क्षेत्र, ०.३६ हेक्टर सानो बजार तथा खुद्रा क्षेत्र, ०.४८ हेक्टर अतिथि गृहको क्षेत्र र १.२१ हेक्टर ह्याच क्षेत्र रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बजार क्षेत्रमा वजन नाप्ने पुल, पार्किङ, विद्युत सञ्चय केन्द्र, जगेडा जेनेरेटर तथा सौर्य ऊर्जा आपूर्ति प्रणाली, ओभरहेड ट्यांकीका साथै पानी आपूर्ति प्रणाली, प्रशासन कार्यालय, सेवा केन्द्र, बाल हेरचाह केन्द्र, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, सहकारी कार्यालय, सिसिटिभी निगरानी कक्ष, तथा अन्य कृषि सुविधाहरु, प्रशोधन तथा भण्डारण सम्बन्धित सुविधाहरु, अतिथि गृह तथा चमेना गृह, बजारअन्तर्गत थोक व्यापार क्षेत्र, खुद्रा बजार क्षेत्र, कृषि उपज लिलामी क्षेत्र र फोहोर व्यवस्थापन तथा फोहोर पानी प्रशोधन केन्द्र रहनेछन् ।


क्लिकमान्डु