पदमार्ग पहिरोले बगायो
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिराले बगाएको छ ।
नाउराको भिरमा पर्ने उजलामा बुधबार दिउँसो खसेको पहिराले करिब ५० मिटर पैदलमार्ग बगाएपछि सिम्कोश बगर, धौलागिरि आधार शिविर र चक्रीय पदमार्गमा आवतजावत बन्द भएको हो । सडक सुविधा नपुगेको सिम्कोश–बगर म्याग्दीको भौगोलिकरुपमा विकट र दुर्गम बस्ती हो ।
बगरका बासिन्दासमेत रहेका वडासदस्य हरिप्रसाद तिलिजाले पहिराले पैदलमार्ग बगाएपछि बगर गाउँमा आवतजावत बन्द भएको जानकारी दिए ।
“बगर र सिम्कोश गाउँ प्राकृतिक नाकाबन्दीमा परेको छ”, उनले भने, “बगर हुँदै धौलागिरि आधार शिविर, हिमाल आरोहण र चक्रीय धौलागिरि पदमार्गमा जाने पर्यटकका साथै सिम्कोश बगर गाउँमा आवतजावत बन्द भएको छ ।”
पदमार्ग बगाएपछि बगर गाउँमा पुग्ने र गाउँबाट बाहिर जान सकेका छैनन् । गाउँ बाहिरको विद्यालय र क्याम्पसमा पढ्ने विद्यार्थी समस्यामा परेका छन् । बिरामीलाई अस्पताल पुग्न महँगो खर्च गरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बगर पुग्ने वैकल्पिक पदमार्ग पहिचान र मर्मत गरी आवतजावत सहज बनाउन पहल गर्ने बताए । घोडेटो बाटो बन्नुअघिको पुरानो गोरेटोबाटो मर्मत गर्न प्राविधिक टोलीलाई अध्ययनमा पठाउने उनले बताए ।
धौलागिरि चक्रीय पदमार्गमा पर्ने नाउराको भिरमा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सुरु गरेको पदमार्ग निर्माणको काम विसं २०६३ मा नेपाली सेनाले पूर्णताः दिएको थियो । पदमार्ग बनेपछि बगर हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म खच्चर पुग्न थालेका थिए ।