निर्मला हत्या प्रकरण: पाँच वर्ष बित्यो तर लागेन टुंगो
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरपालिका-उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि मुद्दाको टुङ्गो लागेको छैन ।
विसं २०७५ साउन १० गते साथीको घरमा विद्यालयको गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।
राष्ट्रिय मानवअधिकार आयोगले घटनाको अनुसन्धान गरी २०७६ पुसमा सरकारलाई प्रतिवेदन बुझाएको थियो । त्यसमा आयोगले सरकारलाई चार बुँदे सिफारिश र २४ बुँदे निर्देशन दिएको थियो ।
आयोगका सिफारिश र निर्देशन अहिलेको मितिसम्म लागू नगरिएको एड्भोकेसी फोरम–नेपालले जनाएको छ । निष्पक्ष अनुसन्धान तथा आरोपितहरूको अभियोजनका लागि जनताले माग गरेको भए पनि कुनै पनि सरकारले त्यसलाई पूरा गरेका छैनन् । प्रहरीबाट प्रमाण नष्ट गरिएको विषयमा निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले दायर गरेको र भाइलाई यातना दिने प्रहरी अधिकृतहरूका विरुद्ध खडक सिंह विष्टले दायर गरेको मुद्दामा जिल्ला अदालत कञ्चनपुरले सबै प्रतिवादीलाई सफाइ दिएको थियो । एड्भोकेसी फोरम–नेपालले २०७८ सालमा प्रकाशन गरेको प्रतिवेदन “असमर्थ कि अनिच्छुक? निर्मला पन्त अनुसन्धानले उजागर गर्यो प्रहरीको प्रणालीगत कमजोरी” मा पीडितले न्याय पाउँदा बेहोरेको सास्तीको फेहरिस्त प्रस्तुत गरेको छ ।
घटनामा निष्पक्ष र स्वतन्त्र र तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानूनबमोजिम सजाय दिन एड्भोकेसी फोरम–नेपालले माग गरेको छ र पीडकहरूमाथि अनुसन्धान तथा अभियोजन नगरिएमा देशमा दण्डहीनता थप संस्थागत हुने धारणा राखेको छ ।
उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै देशभर आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बनेको थियो । यस प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टैछुट्टै छानबिन समिति गठन भए । तर हालसम्म पनि प्रहरी अपराधीसम्म प्रहरी पुग्नसकेको छैन ।