पञ्चकन्या ग्रुपः इलामको किराना पसलदेखि कर्पोरेट हाउससम्म, एकैवर्ष १० अर्बको कारोबार



काठमाडौं । ५१ वर्षअघि प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले पञ्चकन्य ग्रुपका नामबाट ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउँदै ठूला व्यावसायिक घरानामध्येमा पर्न सफल भएको छ ।

पञ्चकन्या ग्रुपको व्यापार १७ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २३ प्रतिशतलेक बढेको हो ।

कम्पनीले सन् २०२१ मा ८ अर्ब ६३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा १० अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२० मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

पञ्चकन्या कम्पनीको पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या प्लास्टिक उद्योग प्रािल, पञ्चकन्या रोटोमोल्ड र पञ्चकन्या स्टिलले १ वर्षमा १० अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।

उक्त अवधिमा पञ्चकन्या स्टिलले ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक उद्योगले १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ, पञ्चकन्या रोटोमोल्डले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ र पञ्चकन्या प्लास्ट प्रालिले ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेका छन् ।

पञ्चकन्या स्टिलको व्यापार २२ प्रतिशतले बढ्यो

सन् २०२२ मा पञ्चकन्या स्टिलको व्यापार २२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा २२ प्रतिशतले बढेको हो । कम्पनीले सन् २०२२ मा ६ अबृ ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा ५ अर्ब ५३ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२० मा ३ अर्ब २६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९९५ मा स्थापना कम्पनीले डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । वार्षिक १ लाख ५० हजार मेट्रिक टन स्टिलजन्य डण्डी उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले भारतबाट एमएस विलेट आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले व्यापार गरेकोमध्ये ९२ प्रतिशत हिस्सा कच्चा पदार्थको छ ।

प्रेमबहादुर श्रेष्ठ अध्यक्ष र प्रदिपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक रहेकोको कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ३ अर्ब ७४ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीअनुसार सन् २०२२ को तुलनामा सन् २०२३ को ९ महिनाको अवधिमा २९.८६ प्रतिशतले घटेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ५.३७ प्रतिशतले नाफा कमाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा नाफामा असर पुगेको कम्पनीको भनाइ छ । कम्पनीले ‘पञ्कन्या’ ब्रान्डमा डण्डी बिक्री गर्दै आएको छ । कम्पनीको देशभर ९० वटा डिलर छन् ।

पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिको व्यापार बढेपनि नाफा घट्यो

पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिको वयापार बढेपनि नाफा भने घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सामान्य वृद्धि भएको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ३४ करोड ८० लाख रुपैयाँ व्यापार गरेकोमा सन् २०२२ मा १ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२२ मा १ अर्ब २६ रोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२० मा १ अर्ब २९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले एचडीपीई पाइप र फिटिङ उत्पादन गरी नेपाली बजारमा सन् १९८२ देखि निरन्तर वस्तु बिक्री गर्दै आएको छ । कम्पनीले वार्षिक ९ हजार मेट्रिक टन एचडीपीईप उत्पादन गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १७ करोड ३१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीको सन् २०२२ मा व्यापार बढेपनि नाफा भने घटेको छ । कम्पनीअनुसार सन् २०२२ मा ३।७८ प्रतिशतले नाफा कमाएको छ । बजारमा उच्च प्रतिस्पर्धा रहेकाले कम्पनीले मूल्य वृद्धिमा निकै चुनौती थपिएको जनाएको छ ।

कम्पनीले सन् २०२२ मा गरेको आम्दानीमध्ये ५० प्रतिशत पीपीआइबाट गरेको छ । कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले पञ्चकन्य ब्रान्डमा नै उत्पादन वस्तु बिक्री गर्दै आएको उल्लेख छ ।

पञ्चकन्या प्लास्टको व्यापार ४.६४ प्रतिशतले बढ्यो

पञ्चकन्या प्लास्टको व्यापार ४.६४ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२१ मा ८९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२० मा ९३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

पालोप्रोपाइलिन र्यान्डम कोपोलिमर (पीपीआर) र क्लोरिनेटेड पोलिभिनल क्लोराइड (सीपीभीसी) पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । वार्षिक ५ हजार मेट्रिक उत्पादन क्षमता भएको कम्पनी सन् २००३ मा स्थापना भएको थियो ।

कम्पनीले सन् २०२२ मा ९.९५ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२२ मा ८.५१ प्रतिशतले नाफा कमाएको छ। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

पञ्चकन्या रोटोमोल्डको व्यापार २३ प्रतिशतले बढ्यो

पञ्कन्या रोटोमोल्ड प्रालिको व्यापार २३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सन् २०२१ मा ८६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ४५ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार २३ प्रतिशतले वृद्धि हुँदा खुद नाफा भने ह्वात्तै घटेको छ । कम्पनीले सन् २०२१ मा ४.६७ प्रतिशतले नाफा कमाएकोमा सन् २०२२ मा २।५० प्रतिशत नाफा कमाएको छ ।

कम्पनीअनुसार कोभिडपछि वस्तुको माग र मूल्य दुबै बढेको उल्लेख छ । त्यस्तै, कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ५६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले वार्षिक ५ हजार ४ सय मेट्रिक टन युपीभिसी पाइप र फिटिङ उत्पादन गर्दै आएको छ । कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड १० लाख रुपैयाँको रेटिङ गराएको छ ।

इलामको किराना पसलदेखि कर्पोरेट हाउससम्म

५१ वर्षअघि प्रेमबहादुर श्रेष्ठले इलामको फिक्कलमा किराना पसलबाट सुरु गरेको व्यवसाय अहिले पञ्चकन्य ग्रुपका नामबाट ट्रेडिङ, हाउजिङ, कन्स्ट्रक्सन, जलविद्युत् जस्ता क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाउँदै ठूला व्यावसायिक घरानामध्येमा पर्न सफल भएको छ ।

ग्रुपका संस्थापक प्रेमबहादुर श्रेष्ठ काँग्रेस नेता बीपी कोइरालाका निकट रहेर राजनीति पनि गरेका थिए । तर, आफ्नो परिवारको पालनपोषण गर्नुपर्ने दायित्व बढ्दै गएपछि राजनीति छाडेर फिक्कलमा किराना पसल सुरु गरेका थिए । त्यो पसलबाट कमाएपछि उनले झापा झरेर काठको व्यापार सुरु गरेका थिए । त्यसपछि उनले झापाको विर्तामोडमा इँटाभट्टा सुरु गरे । त्यो बेला उनले झापामा ६० बिघा जमिन किने । पञ्चकन्या ग्रुपको पहिलो उद्योग नै त्यही इँटाभट्टा हो । पछि उनले झापामा चामल मिल स्थापना गरे । त्यो मिलबाट बङ्गलादेश, भुटान र भारतमा चामल निर्यात हुन्थ्यो ।

झापामा आफ्नो पहिचान बनाइसकेपछि उनको सोच आफ्नो व्यवसायलाई नेपालभर फैलाउने बन्यो । र, उनले आफ्ना छोरा ध्रुवकुमार श्रेष्ठको विवाह तत्कालीन राजा विरेन्द्रका सचिव नगेन्द्रप्रसाद श्रेष्ठकी नातिनीसँग गरे। दरबारसँगको त्यही नाताका कारण उनले उद्योगको एउटा लाइसेन्स पाए । र, भैरहवाको कोटिहवामा पञ्चकन्या प्लास्टिक, पञ्चकन्या आइरन र पञ्चकन्या स्टिलको उद्योग स्थापना भएको हो । यो समूहले २ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।

प्रेमबहादुर श्रेष्ठ अध्यक्ष, प्रदिपकुमार श्रेष्ठ प्रबन्ध निर्देशक, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र कार्यकारी निर्देशकमा प्रज्वलकुमार श्रेष्ठ छन्।


अरिष्मा मोक्तान