आज सार्वजनिक हुँदै मौद्रिक नीति, बैंक दर र निक्षेप संकलन दर घटाउने तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज (आइतबार) सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार आइतबार बिहान मौद्रिक नीति पारित गर्न सञ्चालक समितिको बैठक बोलाइएको छ ।
सञ्चालक समितिले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारित गरेपछि गभर्नरले सार्वजनिक गर्ने प्रचलन छ । बिहान बस्ने सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गर्ने तयारी गरिएको छ ।
अर्थमन्त्री ज्यूले सार्वजनिक कार्यक्रममा लचिलो मौद्रिक नीति ल्याउनु पर्ने भाषण गरे पनि हामीसँग आर्थिक तथ्यांक र देशको आवश्यकता अनुसार मौद्रिक नीति ल्याउन भन्नुभएको छ´राष्ट्र बैंकका एक उच्च अधिकारीले भने,`त्यसैले यसपटक हामीलाई यस्तो नीति ल्याउनु भन्ने कुनै दबाब छैन । हामीले अर्थतन्त्र चलायमान बनाउने तर सोही नाममा भोलि समस्या नहोस् भनेर निकै सचेत भएर मौद्रिक नीति बनाएका तयार गरेका छौं ।´
मौद्रिक नीति तर्जुमा कार्यविधि २०७३ मा आर्थिक वर्ष सुरू भएको एक साता भित्र मौद्रिक नीति ल्याउनु पर्ने व्यवस्था छ । सोही व्यवस्थालाई कार्यान्वयन गर्ने गरि मौद्रिक नीति ल्याउने तयारी गरिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।
मौद्रिक नीतिले नीतिगत दर, बैंक दर र निक्षेप संकलन दर घटाउने श्रोतले जानकारी दिएको छ । यस्तै, २.५ करोड रुपैयाँ भन्दा कम मूल्यका घर र जग्गा कारोबारलाई चलायमान गराउने गरि लोन टु भ्यालू रेसियो र जोखिम भार कम बनाउने राष्ट्र बैंकको तयारी छ ।
मौद्रिक नीतिले शेयरबजारलाई भने केही सुविधा नदिने राष्ट्र बैंका अधिकारीहरू बताउँछन्।