सुन भेटिएका ५ कार्टुनमा एक्सरे परीक्षणपछि लेखिएको थियो ‘रि चेक गर्नू’
काठमाडौं । रेडि ट्रेडर्सले ब्रेक सु भन्दै ल्याएको सुन रहेका कार्टुन विमानस्थलको एक्स रेमा जाँच गर्दा ‘रि चेक’ (पुन परीक्षण) गर्नुपर्ने राय दिएको खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको एक्सरे चेक जाँच गर्ने कर्मचारीले ब्रेक सु भन्दै ल्याइएका पाँचवटा कार्टुनमा आसी (रि चेक) लेखेको खुलेको हो । कार्टुनमा रि चेक लेखिएको भए पनि त्यसको पुन: जाँच भने भएको थिएन ।
‘रि चेक मिलेमतोमा नगरिएको हो वा कर्मचारीले अन्जानबस नगरेका हुन् प्रष्ट भइसकेको छैन’, त्रिवि भन्सार कार्यालयका एक उपसचिवले भने, ‘सीसीटीभीबाट हेर्दा भन्सार अधिकृतले गल्ती गरेजस्तो त देखिँदैन, यद्दपी आरसी लखेको कार्टुन खोलेर नहेर्नु त्रुटी नै हो ।’
एक्सरेका कर्मचारीले कार्टुनमा आरसी लेख्दासमेत भन्सार अधिकृतहरुले कार्टुन खोलेर नहेरी जाँच पास गरेका थिए । उक्त कार्टुन मंगलबार दिउँसो ट्याक्सीमा राखेर बाहिर निकालिएको थियो । पछि राजस्व अनुसन्धानले नियन्त्रणमा लिएको हो ।
राजस्व अनुसन्धान विभागले १६० ब्रेकसुमा सुन लुकाएर ल्याएको अवस्थामा ट्याक्सीसहित नियन्त्रणमा लिएका थियो । उक्त सुन प्रकरणमा हालसम्म १० जना पक्राउ परेका छन् ।
त्यसमध्ये छ जनालाई हिजो उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । हिजो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिएको छ । पक्राउ परेकामा चिनियाँ नागरिक जेयुङ लिन रहेका छन् । चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।
बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको १ क्विन्टल बढी सुन बरामद गरेको थियो।