ठूला पूर्वाधारमा विदेशी लगानी आए मात्र देशको मुहार फेरिन्छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् ।
बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्रीले उक्त असार विकासको प्रवृत्ति त्याग्नुपर्ने बताएका हुन् ।
‘बनेका पूर्वाधार संरचना पनि नटिक्ने र दुर्लभ स्रोतको पनि सदुपयोग नहुने असारे विकासको प्रवृत्तिलाई त्याग्नैपर्छ । विकासमा प्रत्यक्ष संलग्न रहनुभएका इञ्जिनियरहरूले हरेक वर्ष ल्याइने बजेटमा उल्लेख भएका विकास आयोजना समयमै सुरू गरेर समयमा नै निर्धारित बजेटको सीमाभित्र रहेर गुणस्तरीय रूपमा सम्पन्न गर्ने उपायको खोजीको पहल गर्ने मैले विश्वास लिएको छु,’ उनले भने ।
विकासका लागि सरकारसँग स्रोत कम भएकाले निजी क्षेत्रको लगानी आवश्यक देखिएको उनले बताए । ‘पूर्वाधारको क्षेत्रमा पनि वैदेशिक लगानी आउन सकोस् । आन्तरिक राजस्व तथा लगानी पनि बढोस् र ठूला पूर्वाधारमा विदेशी लगानी पनि आओस् । विकासको गति तीव्र भएपछि नै हाम्रो आर्थिक अवस्थामा सुधार आउनेछ, देशको मुहार फेरिनेछ, सबै नागरिकको मुहारमा हाँसो आउनेछ, यसका लागि नेपाल सरकार र प्रधानमन्त्रीका रुपमा म स्वयं लागिरहेको छु,’ प्रधानमन्त्रीले भने ।