वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत ब्याज
काठमाडौं । सामाजिक सुरक्षा कोषले चालु आव २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।
कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार योगदान रकम संकलन भएको छ । कोष सञ्चालक समितिको बैठकले अवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८.६ प्रतिशत ब्याज लाग्ने निर्णय गरेको हो ।
धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना ब्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए । उनका अनुसार कोषमा हालसम्म ३६ अर्ब ४४ करोड योगदान रकम संकलन भइसकेको छ ।
औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा एक अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा एक अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा नौ अर्ब ६१ करोड १५ लाख २८ हजार संकलन भएको कोषले जनाएको छ ।
कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका चार लाख २३ हजार ९२९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार ५३५ गरी कुल ६ लाख ४७ हजार ४६४ श्रमिक आबद्ध भएका छन् । कोषले ८९ हजार २४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत पाँच अर्ब सात करोड दाबी भुक्तानी गरेको छ ।