सरकारले ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलित
काठमाडौं । सरकारले काम सम्पन्न भएका आयोजनाको ५० अर्ब भुक्तानी नगरेको भन्दै निर्माण व्यवसायी आन्दोलित भएका छन् । निर्माण व्यवसायीले आज माइतीघर मण्डलामा धर्ना दिएर तत्काल भुक्तानीका लागि दबाब दिन लागेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सम्पन्न भएका आयोजनाको रकम भुक्तानी नगरेपछि धर्ना गर्न बाध्य हुनुपरेको जनाएको छ ।
यसअघि नै महासंघले पत्रकार सम्मेलन गरी ५० अर्ब रुपैयाँ सरकारले भुक्तानी गर्न बाँकी भएको बताएको थियो । समयमा भुक्तानी नभएका कारण समस्या परेको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएको थिए ।
तर, सरकारले निर्माण व्यवसायीको कुरालाई बेवास्ता गर्दै कुनै निर्णय नगरेपछि धर्ना गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनका अनुसार महासंघले आजबाट चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने भएको छ ।