जलविद्युत क्षेत्रमा १ खर्ब लगानी प्रतिबद्धता, गत वर्षभन्दा ६६ अर्बले कम



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा विद्युत क्षेत्रमा लगानीकर्ताले १ खर्ब बढीको लगानी प्रतिबद्धता जनाएका छन् ।

उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १ खर्ब ७ अर्ब ५१ करोड १२ लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् ।

उक्त अवधिमा ३८ वटा विद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता गरेका छन् । नेपालमा विद्युत क्षेत्रमा प्रचुर सम्भावना देखिएसँगै निजी क्षेत्रले उच्च लगानी गरिरहेका छन् । त्यस्तै, सरकारले पनि जलविद्युत क्षेत्रमा लगानीमा जोड दिएका छन् । सरकारले अहिले वैदेशिक व्यापारघाटा कम गर्नका लागि नेपालबाट निर्यात गर्न सक्ने प्रमुख स्रोत बनाएका छन् ।

त्यसैगरी, सरकारले भारतमा बिजुली निर्यात गर्दै आएको छ । बंगलादेशमा पनि निर्यात गर्ने तयारी गरेको छ । सरकारले निर्यातमा जोड दिएसँगै निजी क्षेत्रका लगानीकर्ताहरुले जलविद्युत क्षेत्रमा उच्च लगानी गरिरहेको विभागको तथ्यांक छ ।

तर, गत वर्षको तुलनामा भने यो वर्ष लगानी प्रतिबद्धता जनाएका छन् । गत वर्षको ११ महिनाको अवधिमा ४७ वटा जलविद्युत उद्योग दर्ता गरेका थिए । उक्त उद्योगहरुले १ खर्ब ६६ अर्ब २७ करोड ८ लाख रुपैयाँ जलविद्युत क्षेत्रमा लगनाी प्रतिबद्धता जनाएका थिए ।

उक्त तथ्याङ्क हेर्दा गत वर्षको तुलनामा ५९ अर्ब कम लगानी प्रतिबद्धता जनाएका छन् । चालु आर्थिक वर्षमा आर्थिक मन्दीका कारण अधिकांश वस्तुको मागमा कमी आएको छ । जसले गर्दा उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन् ।

आर्थिक मन्दीले गर्दा अधिकांश क्षेत्रमा प्रभाव परेसँगै लगानी प्रतिबद्धता कम देखिएको हो । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले पर्याप्तमा मात्रामा कर्जा प्रवाह गर्न नसकेको र ब्याजदर उच्च विन्दुमा पुग्दा यो वर्ष समग्र लगानी प्रतिबद्धता घटेको छ ।

विभागअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा एउटै जलविद्युत आयोजनामा १६ अर्ब बढी लगनाी प्रतिबद्धता जनाएको छ ।

तामाकोशी जलविद्युत कम्पनीले दोलखामा तामाकोशी पाँचौं जलविद्युत आयोजनाबाट ९९.८ मेगावाट विजुली उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएको छ ।

त्यसबाहेक अन्य ६ वटा जलविद्युत आयोजनाले ५ अर्ब बढी लगानी प्रतिबद्धता जनाएका छन् । विभागमा दर्ता भएको विवरणमा २३.७० मेगावाटदेखि ४० मेगावाट विजुली उत्पादन गर्ने प्रतिबद्धतासहित ५ अर्बदेखि ५ अर्ब ९१ करोड रुपैयाँसम्म लगानी प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी, ४ वटा जलविद्युत आयोजानाले २२ मेगावाटसम्म विजुली उत्पादन गर्ने गरी ४ अर्बदेखि ५ अर्ब रुपैयाँसम्म लगानी प्रतिबद्धता जनाएका छन् । साथै, अन्य उद्योगले ३५ करोडदेखि ३ अर्ब रुपैयाँसम्म विजुली उत्पादन गर्ने गरी लगानी प्रतिबद्धता जनाएका छन् ।


क्लिकमान्डु