पर्यटन मन्त्रीलाई अवज्ञा गर्ने क्यानका डीजी अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सोधको पत्रको जवाफ दिन अस्वीकार गरेका महानिर्देशक अधिकारीलाई मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बुधबार बेलुका पर्यटन मन्त्री किरातीले अधिकारीसँग ३ दिनभित्र दोस्रो पटक जवाफ माग्ने निर्णय गरेका स्रोतले जानकारी दिएको छ ।

‘प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोध्ने स्पष्टीकरण मन्त्री ज्यूले पारित गर्नु भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘विभिन्न ९ बुदाँ स्पष्ट पार्न पत्र लेखेकोमा किन जवाफ नदिएको भन्दै प्राधिकरणका डिजीलाई दोस्रो पटक स्पष्टीकरण सोध्न लागिएको हो । बिहीबार बिहान १० बजे प्राधिकरणको कार्यालयमा पत्र पुग्छ ।’

मन्त्री किरातीले असार ११ गते मन्त्रीस्तरिय निर्णय गर्दै महानिर्देशक अधिकारीसँग पहिलोपटक ९ बुँदे प्रश्न सोधका थिए । ७ दिनभित्र जवाफ दिन निर्देशन दिए पनि आफूलाई मन्त्रीले प्रश्न सोध्न नपाउने तर्क गर्दै अधिकारीले मन्त्रीले सोधको जवाफ दिन अस्वीकार गरेका थिए ।

अधिकारीले आफ्नो समाजिक संजाल टुईटरमा प्राधिकरण स्वात्त संस्था भएको उल्लेख गरेका थिए । यस्तै, विभिन्न सञ्चार माध्यममा अधिकारीले आफूलाई मन्त्रिपरिषदले नियुक्त गरेकाले मन्त्रिपरिषद्ले नै स्पष्टीकरण सोध्नु पर्ने बताएका थिए ।

मंगलबार दिँउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको मन्त्रिपरिषद्को बैठकमा पनि अधिकारीलाई स्पष्टीकरण सोध्ने विषयले प्रवेश पाएको थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार पर्यटन मन्त्री किरातीले पटक पटक ऐन कानून विपरित काम गरेपछि महानिर्देशक अधिकारीलाई स्पष्ट पार्न पत्र लेखिएको मन्त्रिपरिषद्लाई जानकारी गराएका थिए । यस्तै, बैठकपछि प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल र पर्यटन मन्त्री किरातीबीच गोप्य छलफल भएको थियो ।

प्रधानमन्त्री र पर्यटन मन्त्रीबीच भएको छलफलमा कुनै पनि अन्य व्यक्ति सहभागी नभएकाले दुई जनाबीच के छलफल भयो भने स्पष्ट हुन सकेको छैन । तर, प्रधानमन्त्रीसँगको दुई पक्षीय भेटपछि पर्यटन मन्त्रीले दोस्रो पटक अधिकारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेकाले दुई जनाबीच अधिकारीलाई कारबाही गर्ने विषयमा सहमति भएको अनुमान गर्न सकिन्छ

पर्यटन मन्त्रालयले दोस्रो पटक स्पष्टीकरण सोध्न तयार गरेको पत्रका भनिएको छ, ‘प्राधिकरणको अध्यक्षका रूपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न ९ वटा विषयमा ७ दिन भित्र स्पष्ट पार्न भनिएकोमा निर्धारित समयमा जवाफ नदिनुको कारण के हो ?’

अधिकारी २०७८ माघ १८ गते तत्कालिन पर्यटन मन्त्री प्रेम आलेलाई रिझाएर आफूभन्दा सिनियर कर्मचारीलाई उछिन्दै प्राधिकरणको महानिर्देशक भएका थिए ।

११औं तहका अधिकारीलाई ऐनमा भएको छिद्रको फाइदा उठाउँदै तत्कालिन पर्यटन मन्त्री आलेले महानिर्देशक नियुक्त गरेका थिए । मन्त्री किरातिले गरेको निर्णयमा महानिर्देशक भएपछि सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सक्रिय हुनु भन्दा पनि विवादस्पदकाममा संलग्न रहेको भन्दै स्पष्ट पार्न भनिएको थियो ।

तर, अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री किरातीको निर्णयलाई अवज्ञा गर्दै ७ दिन भित्र जवाफ पेश गरेका थिएनन् । असार ११ गते मन्त्रीस्तरीय निर्णय गर्दै पर्यटन मन्त्रालयले अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोध्दै ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

महानिर्देशक अधिकारीले स्पष्टीकरण प्राप्त भएकै दिन केही सञ्चारमाध्यममा गोप्य हुनुपर्ने स्पष्टीकरणपत्र फेसबुकबाट मन्त्रीले सार्वजनिक गरेको भन्दै जवाफ नदिने बयान दिएका थिए ।

स्पष्टीकरण सोधिएकै दिन महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न पुगेका थिए । सो दिन मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्री पुत्री गंगा दाहालको सहयोगमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए ।

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई छुट्याएर सेवा प्रदायक र नियाकम निकाय बनाउनु पर्ने नीति लिएपनि अधिकारी सेवा प्रदायक र नियामक निकाय छुट्याउन नहुने पक्षमा थिए । उक्त कार्य प्राधिकरणका कर्मचारीको सेवा सर्त नियमावली विपरित भएको स्पष्टीकरणमा उल्लेख गरिएको थियो ।

यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्धाटनका दिन एलएलएभी समय उल्लंघन गर्दै उडान गरिएको विषयमा पनि अधिकारीलाई स्पष्ट पार्न निर्देशन दिएको थियो ।

क्लिकमान्डुले गत फागुनमा १७ गते पोखरा विमानस्थल उद्घाटनका दिन उड्डयन सुरक्षाको गम्भीर उल्लंघन, नियमविपरीत ५ उडान शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।


शरद ओझा