शिवशिखर र तुलसी सहकारीको १२ अर्ब बचत हिनामिना गरी ४३ कम्पनीमा ऋण लगानी



काठमाडौं । शिवशिखर बहुद्देश्यीय सहकारी र तुलसी सहकारीको रकम हिनामिना गर्ने केदारनाथ शर्मा पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई असार ११ गते बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।

शर्माले प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ वटा कम्पनीमा ऋण लगानी गरी उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको छ ।

शिवशिखरका सञ्चालक समितिका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसनका सञ्चालक केदारनाथ शर्मालाई सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिको नाममा जग्गाजमिन तथा सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरेको पाइएकाले नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए

प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार शर्माले शिवशिखरमा बचतकर्ताले जम्मा गरेको १२ अर्ब रुपैयाँभन्दा बढी रकम दुरुपयोग गरेका छन् । भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुद्देश्यीय सहकारीमा खाता खोलेका १ लाख ६८ हजार ७२५ बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५८६ रुपैयाँ हिमामिना गरेको सीआईबीको आरोप छ । शिवशिखरका नेपालका ३५ जिल्लामा शाखा कार्यालय छन् ।

त्यस्तै तुलसी बहुमुखी सहकारीबाट शर्माले २१ हजार १५४ बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


क्लिकमान्डु