पूर्वाधार क्षेत्रमा काठमाडौं महानगरद्वारा ७ अर्ब ३४ करोड ६४ लाख विनियोजन



काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वाधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार आयोजित महानगरको १३औं नगरसभा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पेस गर्दै महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन् ।

बजेटमा महानगरपालिकाको वडा कार्यालय भवन क्रमशः निर्माण गर्नका लागि आवश्यक रकमको व्यवस्था मिलाएको उल्लेख गरिएको छ ।

उपप्रमुख डंगोलले महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटी मध्ये डीपीआर भएका सडक तथा पेटीहरु मर्मत तथा निर्माण गरि ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिने उल्लेख गरिन् । यस योजना अन्तर्गत विभिन्न कार्यक्रम संचालन गर्न १ अर्ब करोड रकम विनियोजन गरिएको छ ।

‘सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाई प्रभावकारी रुपमा संचालन गर्न २५ करोड रुपैयाँ रकम र महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइवर तथा अन्य केवल विस्तारको लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी शेयर्ड इन्फ्रास्ट्रकचरको अवधारणा अनुरूप कार्य अगाडि बढाउन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छु,’ उनले भनिन् ।

त्यस्तै, महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमा सुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’अन्तर्गत २५ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवं महानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरुमा सीसीटीभी सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोड रुपैयाँ विनियोजन गरेको छ।


क्लिकमान्डु