जेठमा चालु आवकै उच्च आयात, साढे १३ खर्ब व्यापारघाटा
काठमाडौं । जेठ महिनामा चालु आर्थिक वर्षकै उच्च आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार जेठ महिनामा १ खर्ब ४५ अर्ब ६५ करोड ८६ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन यो वर्षको उच्च आयात हो ।
नेपालले गत वैशाखमा १ खर्ब ३३ अर्ब ८१ करोड ३४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । त्यस्तै, नेपालले वैशाखमा १ खर्ब ३३ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ, चैतमा १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ, फागुनमा १ खर्ब ३९ अर्ब २२ करोड १ लाख रुपैयाँ र माघमा १ खर्ब २६ अर्ब ४९ करोड ९० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
त्यसैगरी, पुसमा १ खर्ब २७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ, मंसिरमा १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख रुपैयाँ, कात्तिकमा १ खर्ब ३१ अर्ब ६९ करोड ३० लाख रुपैयाँ, असोजमा १ खर्ब २७ अर्ब ३९ करोड ८६ लाख रुपैयाँ, भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख रुपैयाँ र साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड २४ लाख रुपैयाँको वस्तु आयात गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष १६.०१ प्रतिशतले आयात कमी आएको छ ।
त्यस्तै, नेपालबाट निर्यात हुने वस्तुमा पनि २२.७४ प्रतिशतले कमी आएको छ । गत वर्षको ११ महिनाको अवधिमा नेपालले १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । यो वर्षको सोही अवधिमा नेपालले १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।
विभागको तथ्याङ्कअनुसार नेपालले ११ महिनाको अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले १५ खर्ब ७७ अर्ब ३८ करोड ६० लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।
नेपालले ११ महिनाको अवधिमा १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । नेपालले आयातित वस्तुबाट ३ खर्ब ४४ अर्ब ३ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।