नयाँ र पुराना धितोपत्र दलालबीच जुहारीः नयाँ ब्रोकरको आरोपलाई संघले गर्‍यो खण्डन



काठमाडौं । नयाँ र पुराना धितोपत्र दलाल व्यवसायीबीच जुहारी सुुरु भएको छ । दुवै संस्थाले विज्ञप्ति मार्फत जुहारी सुरु गरेका छन् ।

जेठ ३० गते न्यु स्टक ब्रोकर एशोसिएसन नेपालले अर्थ समितिसँग जोडेर पुराना ब्रोकर कम्पनीलाई विभिन्न आरोप लगाएको थियो ।

शुक्रबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालले त्यसलाई खण्डन गर्दै नयाँ ब्रोकरले लगाएको आरोपप्रति खेद प्रकट गरेको छ ।
नयाँ ब्रोकरहरुले ’सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरु’ भनी आरोप लगाएको थियो । त्यो आरोप झूठा, आधारहिन, कपोलकल्पित र अवास्तविक आरोप भएको भन्दै खेद प्रकट गरेको एसोसिएसनले जनाएको छ ।

जेठ ३० गते अर्थ समितिलाई सम्बोधन गरी नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीको लाईसेन्स सम्बन्धमा जारी ज्ञापन पत्र सञ्चार माध्यमहरुबाट जानकारीमा आएको र सो ज्ञापन पत्रमा धितोपत्र दलाल व्यवसायीहरुप्रति लक्षित धारणाहरु प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

ब्रोकर कम्पनीहरु धितोपत्र सम्बन्धी ऐन, नियम, विनियम, निर्देशिका, परिपत्र आदि अन्तर्गत रही नियामक तथा बजार सञ्चालकबाट प्राप्त निर्देशन तथा परिपत्रहरुलाई पूर्णतः अक्षरस पालना गर्दै दक्ष कर्मचारी, प्रविधियुक्त कारोबार प्रणाली तथा व्यवसायी मैत्री लगानी वातावरण मार्फत् लगानीकर्ताहरुप्रतिको सेवालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आईरहेका संघले जनाएको छ ।

’धितोपत्र दलाल व्यवसायीहरुले पूँजी बजारका नियामक निकाय तथा बजार सञ्चालकबाट प्राप्त हुने निर्देशनहरुलाई लत्याउँदै आएको’ भन्ने झूठा, आधारहिन, कपोलकल्पित र अवास्तविक आरोपलाई पूर्णरुपमा खण्डन गर्दछौं’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई हाम्रो बजारको इतिहासले नै प्रष्ट पार्दछ ।’

धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत् रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको जनाएको छ । उच्च प्रतिस्पर्धाबाट नै स्थापित ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेका जनाएको छ ।

३०औं बर्षको इतिहासमा आजसम्म पनि पूँजीबजारको आधारभुत औजार राफसाफ कोष कार्यान्वयनमा नआएको, अक्सन मार्केट उपलब्ध नभएको, उधारो कारोबारबाट सिर्जित बिषम परिस्थिती तथा उधारो सङ्कलनको कुनै कानुनी प्रावधानहरुको व्यवस्था नभएको जनाएको छ ।

नेपालका बैंक, वित्तीय संस्था, सहकारी तथा अन्य क्षेत्रहरुमा बेलाबेलामा भुक्तानीसम्बन्धि विविध समस्याहरु देखिरहेको परिप्रेक्ष्यमा समेत ब्रोकर कम्पनीहरुले जस्तोसुकै विषम परिस्थितिमा पनि कुनै पनि लगानीकर्ताहरुलाई धितोपत्र बिक्रि वापतको रकम भुक्तानी गर्न नसकेको वा नगरेको एउटा पनि उदाहरण नभएको दाबी गरेको छ ।

धितोपत्र दलाल व्यवसायीहरुले ’तोकिएको समयभित्रै राफसाफ सेवा लगायतका कार्य व्यवसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेका कारण लगानीकर्ताहरुको अबको सम्पत्ति जोखिममा रहेको’ भनी झुठा र भ्रामक आरोपको स्वयम् हाम्रो गौरवान्वित इतिहासले खण्डन गरेको जनाएको छ ।

धितोपत्र दलाल व्यवसायीको लाईसेन्स बितरण प्रक्रियामा दलाल व्यवसायीहरुको कही कतै कुनै पनि प्रकारको भूमिका नरहने स्पष्ट पारेको छ । धितोपत्र दलाल व्यवसायीहरुको यो प्रक्रियामा कही कतै कुनै पनि प्रकारको भूमिका नरहेको जनाएको छ ।

‘लाईसेन्स बितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै सम्मानित निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले गर्दैनन् र सम्मानित निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न सकिदैन’ जारी विज्ञप्तिमा उल्लेख छ ‘धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी सम्मानित अर्थ समितिले निर्देशन जारी गरेको’ भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको छ र यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।’


क्लिकमान्डु