इप्पानमा गणेश कार्कीको प्यानलै विजयी, यस्तो बन्यो नयाँ कार्यसमिति



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को नयाँ कार्यसमितिमा गणेश कार्कीको प्यानलै विजयी भएको छ ।

अध्यक्षदेखि कोषाध्यक्षसम्म निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिमा ७ जना सदस्यका लागि मात्रै मतदान भएको थियो । त्यसमा पनि कार्की समूहबाट प्रतिस्पर्धामा उत्रिएका सबै उम्मेदवार विजयी भएका छन् ।

इप्पानको वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी निर्वाचित भएका छन् । उनी ३ वर्षपछि स्वतः अध्यक्ष हुनेछन् । प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र दिएका छन् ।

त्यस्तै ५ जना उपाध्यक्षमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य र आनन्द चौधरी निर्वाचित भएका छन् । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाशचन्द्र दुलाल निर्वाचित भएका छन् ।

त्यस्तै ५ जना सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम बिष्ट र हिमप्रसाद पाठक निर्वाचित भएका छन् । कोषाध्यक्षमा नरेन्द्रबल्लभ पन्त निर्वाचित भएका छन् ।

१० जना सदस्यमध्ये ७ जना खुला र ३ महिला सदस्य रहने व्यवस्था थियो । महिला सदस्य निर्विरोध निर्वाचित भए पनि ७ जना खुला सदस्यमा भने १४ जना प्रतिस्पर्धामा थिए ।

त्यसमा पनि कार्की प्यानलका उत्तरकुमार श्रेष्ठ, शंकर बस्याल, मिथुन चक्रवर्ती, प्रसाद पौडेल, भरतमणि नेपाल, विजयमोहन भट्टराई, टीएन आचार्य र भरत पराजुली निर्वाचित भएका छन् । श्रेष्ठले सबैभन्दा धेरै २७३ मत पाउँदा बस्यालले २५४, नेपालले २२५, पराजुली र पौडेलले समान २१७, आचार्य २१६ र भट्टराई १९३ मतसहित विजयी भए ।

तीन जना महिला सदस्यमा ईशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी निर्विरोध निर्वाचित भएका छन् ।


क्लिकमान्डु