इप्पानमा गणेश कार्की समूहको उम्मेदवारी घोषणा, कुन पदमा को ?



काठमाडौं । स्तवतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की नेतृत्वको कार्यसमितिको उम्मेदवारहरु घोषणा भएको छ ।

सोमबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन कुमार डाँगी, उपाध्यक्षहरु आशिष गर्ग, भरतबहादु खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम ब्लोन लामाको उम्मेदवारी घोषणा भएको छ । त्यस्तै महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवहरुमा भरत खड्का ,विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल रहेका छन् । कोषाध्यक्षमा नरेन्द्र वल्लभ पन्तको उम्मेदवारी घोषणा गरिएको छ ।

आफ्नो समूहको उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार कार्कीले अहिले जलविद्युत आयोजनालाई लगानीको समस्या भएको बताए ।

यो वर्ष ३ हजार मेगावाट उत्पादन हुने सम्भावना भए पनि १६ सय मेगावाट मात्रै खपत भएको उनले बताए । ‘भारतले विद्युत किनेन भने के गर्ने भन्ने चिन्ता छ,’ उनले भने, ‘सरकारले पनि थप विद्युत उपभोग गर्ने नीति लिएको छैन ।’

सरकारले समय-समयमा ल्याउने नीतिले ऊर्जा उत्पादन गर्न नसक्ने अवस्था रहेको उनले बताए । आफूले जितेपछि धितोपत्र बोर्ड, बिमालगायतका क्षेत्रबाट भोग्नुपरेको समस्या समाधानका लागि काम गर्ने प्रतिवद्धता कार्कीले जनाए ।

हिजो अर्को समूहले उम्मेदवारी घोषणा गरेपछि बाध्य भएर आफूले पनि घोषणा गर्नुपरेको उपमहासचिव पदका उम्मेदवार प्रकाशचन्द्र दुलालले बताए ।

उम्मेदवारी घोषणा गरेका केही उम्मेदवार दुवै समूहमा छन् । यसले पनि अझै सर्वसम्मत हुने सम्भावना रहेको उनको विश्वास छ।

इप्पानमा २५ सदस्यीय कार्यसमिति छ । कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ५ जना, महासचिव, उपमहासचिव, सचिव ५ जना, कोषाध्यक्ष १ जना र बाँकी १० जना सदस्य रहन्छन् ।

इप्पानको निर्वाचन जेठ ३२ गते हुँदैछ ।


क्लिकमान्डु