वैशाखमा महँगी घट्यो



काठमाडौं । वैशाख महिनामा महंगी घटेको छ । गत वर्षको वैशाखमा ७.८७ प्रतिशत रहेको महँगी चालु आर्थिक वर्षको वैशाखमा ७.४१ प्रतिशत पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिकाअनुसार वैशाख महिनामा मुद्रास्फीति ७.४१ प्रतिशत रहेको हो ।

वैशाखमा खाद्य तथा पेय पदार्थ समूहमा ५.५४ प्रतिशत र गैर खाद्य तथा सेवा समूहमा ८.८९ प्रतिशतको मुद्रास्फीति देखिएको छ।

वैशाखमा खाद्य तथा पेय पदार्थअन्तर्गत पनि मरमसलामा २६.६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलमा १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.६९ प्रतिशत, दुग्ध र अण्डामा १०.४१ प्रतिशत र सूर्तीजन्य पदार्थमा ८.४९ प्रतिशतको मृल्यबृद्धि देखिएको छ ।

गैर खाद्य तथा सेवा समूहहरुअन्त्र्गत मनोरञ्जन तथा संस्कृतिमा १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुमा १३.०८ प्रतिशत, शिक्षामा १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुमा ९.६५ र फर्निसिङका तथा घरायसी उपकरणहरुमा ८.२७ प्रतिशतको मूल्य वृद्धि भएको छ ।

वैशाखमा सबैभन्दा धेरै काठमाडौं उपत्यकामा मूल्यबृद्धि देखिएको छ । उपत्यकामा ७.६८ प्रतिशतको मूल्यबृद्धि देखिँदा तराईमा ७.१५, पहाडमा ७.५७ र हिमालमा ७.१२ प्रतिशतको मूल्यबृद्धि रहेको छ ।


क्लिकमान्डु