उपभोक्ता मूल्य ६ वर्षमा दोब्बरले बढ्यो, सबैभन्दा बढी खाद्यान्नमा



काठमाडौं । नेपालमा ६ वर्षको अवधिमा वस्तु तथा सेवाको उपभोक्ता मूल्य दोब्बरले बढेको छ । आर्थिक सर्वेक्षणअनुसार नेपालको उपभोक्ता मूल्य ६ वर्षको अवधिमा दोब्बरले बढेको हो ।

आर्थिक वर्ष २०७४/७५ मा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत थियो । आव २०७९/८० मा आइपुग्दा उपभोक्ता मुद्रास्फीति दर ७.९ प्रतिशत पुगेको हो ।

आर्थिक सर्वेक्षणअनुसार आव २०७५/७६ मा बढेर उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको थियो भने आव २०७६/७७ मा ६.२ प्रतिशत पुगेको थियो । तर, आव २०७७/७८ मा घटेर ३.६ प्रतिशतमा सीमित भएको थियो ।

कोरोनाको उच्च प्रभाव परेको सो अवधिमा उपभोक्ता मुद्रास्फीति घटे पनि आव २०७८/७९ मा भने ह्वात्तै बढेको देखिन्छ । जसमा आव २०७८/७९ मा नेपालको उपभोक्ता मुद्रास्फीति ६.३ कायम भएको थियो ।

यो वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ७.९३ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.५३ प्रतिशत थियो ।

वार्षिक आधारमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २०७९ फागुनमा ५.६४ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उप-समूहको वार्षिक मूल्य सूचाकांक १४.३५ प्रतिशत र रेस्टुरेन्ट तथा होटलको १४.०९ प्रतिशत छ ।

त्यस्तै मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको छ । २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत थियो ।

वार्षिक आधारमा २०७९ फागुनमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत थियो । गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ८.७९ प्रतिशतले बढेको छ । २०७८ फागुनमा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत थियो ।

तरकारी र घ्यू तथा तेलको मूल्य भने घटेको छ । तरकारीको मूल्य ८.८ प्रतिशत र घ्यू तथा तेलको मूल्य ३.८१ प्रतिशतले घटेको छ । सर्वेक्षणअनुसार सञ्चार क्षेत्रको मूल्यवृद्धि १.४१ प्रतिशत, मासु तथा माछा ३.६७ प्रतिशत, दाल ३.७२ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा ४.७६ प्रतिशत, अन्य वस्तु तथा सेवा ५.९१ प्रतिशत, चिनी तथा मिठाई ५.९५ प्रतिशत, लत्ताकपडा तथा जुत्ता ७.०३ प्रतिशत र हल्का पेय पदार्थ ७.१७ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

त्यस्तै, २०७९ फागुनमा काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत उपभोक्ता मुद्रास्फीति छ । २०७८ फागुनमा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति थियो ।

वार्षिक आधारमा २०७९ फागुनमा थोक मुद्रास्फीति ७.१० प्रतिशत छ । थोक मूल्यअन्तर्गत प्राथमिक वस्तुहरूको मूल्य १.८१ प्रतिशत, उत्पादित वस्तुको मूल्य ७.३३ प्रतिशत र इन्धन तथा ऊर्जाको मूल्य २५.७९ प्रतिशतले बढेको छ ।

यसैगरी, उपभोग्य वस्तु २.१९ प्रतिशत, मध्यवर्ती वस्तु १०.३३ प्रतिशत र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि ४.९६ प्रतिशत छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.५८ प्रतिशत छ । २०७८ फागुनमा थोक मुद्रास्फीति १३.१३ प्रतिशत थियो । गत वर्षको फागुनमा प्राथमिक वस्तुहरूको मूल्य १३.६६ प्रतिशत, उत्पादित वस्तुको मूल्य १२.०२ प्रतिशत र इन्धन तथा ऊर्जाको मूल्य १८.५९ प्रतिशतले बढेको थियो ।

स्वदेशी बजारमा २०७९ असार मसान्तमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १८१ रूपैयाँ रहेकोमा १.७ प्रतिशतले घटेर २०७९ फागुन मसान्तमा १७८ रूपैयाँ कायम भएको छ । यसैगरी, २०७९ असार मसान्तमा प्रतिलिटर १७२ रूपैयाँ रहेको डिजेल र मट्टीतेलको खुद्रा मूल्य १.७४ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १७५ रूपैयाँ पुगेको छ ।

२०७९ असार मसान्तमा प्रतिलिटर १९० रूपैयाँ रहेको आन्तरिक हवाई इन्धनको खुद्रा मूल्य १०.५ प्रतिशतले घटेर २०७९ फागुनमसान्तमा १७० रूपैयाँ पुगेको छ । यो अवधिमा प्रतिसिलिन्डर एलपी ग्यासको खुद्रा मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।


क्लिकमान्डु