हामी कर्जाको कुलतमा छौं, जग्गाको मूल्य नघट्दासम्म अर्थतन्त्र ट्रयाकमा आउँदैन: अर्थशास्त्री गौचन



काठमाडौं । अर्थशास्त्री विश्वास गौचनले नेपाल कर्जाको कुलतमा फसेको बताएका छन् ।

इकोनोमी मिडिया सोसाइटी नेपाल (ईम्सन)ले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गौचनले नेपालमा निजी क्षेत्रले कम उत्पादनमुलक क्षेत्र र राज्यले कहिल्यै पूरा नहुने परियोजनामा खर्च गरिरहेको बताए ।

‘हामी कर्जाको कुलतको अवस्थामा छौं, निजी क्षेत्रले कुल गार्हास्थ उत्पादनको ९७ प्रतिशत कर्जा लिएको छ। राज्यले जिडीपीको ४२ प्रतिशत कर्जा लिएको छ´ गौचनले भने, `हामीले कर्जा लियौं तर सही ठाउँमा लगानी गरेनौं । जसले गर्दा २० प्रतिशतले कर्जा बिस्तार हुँदा पनि आर्थिक वृद्धि ४ प्रतिशत माथि जान सकेको छैन ।’

सरकारले एउटा पुल बनाउन वर्षौं लगाउने प्रवृत्तिले आर्थिक वृद्धिमा योगदान नदिएको गौचनको भनाइ छ । जग्गामा मूल्य जति छिटो घट्यो नेपालको अर्थतन्त्र त्यति छिटो मन्दीको अवस्थाबाट निस्कने गौचनको आंकलन छ ।

नयाँ संविधान निर्माणपछि पहिलो पटक बजेटको आकार जीडिपीको ३० प्रतिशत भन्दा कम हुनु सकारात्मक भएको गौचनले बताए ।

‘नयाँ संविधानपछि जवाफदेहिताहिन बजेट बनाउने बिकृती बढेको छ’ गौचनले भने, ‘अहिलेको बजेटमा धेरै सकारात्मक विषय भएको पनि ठूलो संरचनात्मक सुधार गर्न चुकेको छ।´

बढ्दो समाजिक सुरक्षा खर्चले नेपाली अर्थतन्त्र धरापमा परेको भन्दै अर्थतन्त्रको आकार र पुँजीगत खर्चले पुँजी निर्माण र रोजगारीको अवसर सिर्जना नगर्दा सम्म अर्थतन्त्र लयमा नफर्किने गौचनको आंकलन छ ।

´नेपालको अर्थतन्त्रको संरचनात्मक सुधार कृषि क्षेत्रमा हुने भन्दै १८ हजार हेक्टर जमिनमा सिँचाइ हुने अवस्थाले कृषि क्षेत्रको सुधार हुँदैन’ उनले भने,’ विशेष आर्थिक क्षेत्रले ३० प्रतिशत निर्यात गर्दा हुने व्यवस्था गरे पनि नेपालको अर्थतन्त्र औद्योगिक क्षेत्रमा प्रतिस्पर्धी हुन कठिन छ।´


क्लिकमान्डु