कास्कीको अन्नपूर्णमा ४.५ मेगावाटको माथिल्लो भुरुण्डी ए हाइड्रोपावर बन्ने
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
विद्युत विकास विभागले एक सूचना प्रकाशित गर्दै अन्नपूर्ण गाउँपालिकामा रहेको भुरुन्डी खोलामा माथिल्लो भुरुण्डी ए जलविद्युत आयोजना निर्माण हुने जानकारी दिएको हो । यो जलविद्युत आयोजनाको निर्माण निको इनर्जी प्रालिले गर्न लागेको हो ।
प्रकाशित सूचनाकाअनुसार यो आयोजना नदी प्रवाहमा आधारित हुनेछ । जडित क्षमता ४.५ मेगावाट रहेको आयोजनाबाट वार्षिक रुपमा सरदर २५.३३ गिगावाट घण्टा विद्युतीय उर्जा उत्पादन हुनेछ ।
विद्युत उत्पादनका लागि भुरुण्डी खोलाको पानी फर्काउन २२.३९ मिटर लम्बाई र ५.४३ मिटर उचाईको बाँध निर्माण गरिनेछ ।
आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत गृहको ३३ केभिको स्वीचयार्डमा जडान हुने ट्रान्सफर्मरपछि करिब ९.६ किमि लामो ३३ केभीको सिंगल सक्रिट प्रसारण लाइनमार्फत १३२ र ३३ केभीको दिमुवा सबस्टेसन जोडिने सूचनामा उल्लेख गरिएको छ ।
आयोजना २०७४ कात्तिक ०७ गतेबाट विद्युत उत्पादन गर्ने प्रस्ताव गरिएको छ ।