अर्थमन्त्रीसँग वार्तापछि खुलेको बजारमा छायो हरियाली
काठमाडौं । सेयर लगानीकर्ताको विरोध वार्तामा परिणत भएपछि खुलेको बजारमा हरियाली छाएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारमा थप कर नलगाउने र अर्थ मन्त्रालयले पनि ५ र साढे ७ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने भनेपछि खुलेको बजारमा हरियाली छाएको छ ।
सरकारले सेयर कारोबारलाई आयकर लगाउन खाजेको भन्दै विरोध गरेका थिए । लगानीकर्ताहरुले ब्रोकरको मौन समर्थनमा ब्रोकर कार्यालयमा कारोबार नगर्नु भनेर सूचना नै टाँस गरेका थिए । मन्त्रालयमा वार्ता सकारात्मक भएपछि बजार खुलेको हो ।
आइतबार बजार मापन गर्ने सूचक ५३.०३ अंकले बढेर परिसूचक १९१९.३७ बिन्दुमा रोकिएको छ ।
२७० कम्पनीको ४५ लाख ५७ हजार १६९ कित्ता सेयर १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँमा किनबेच भएको छ । कारोबारमा २१७ कम्पनीको सेयर मूल्य बडेको छ भने तीन वटाको घटेको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।