लगातार तीन दिनमा १०९ अंक घटेको सेयर बजारमा बिहीबार १६ अंकको सुधार
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि घटेको बजार आज भने दोहोरो अंकले बढेको छ । बजेटमा गरेको आयकरको व्यवस्थापछि घटेको बजारमा आन्तरिक राजस्व विभागले पटके कारोबारमा ५ र साढे ७ प्रतिशत नै अन्तिम लाभकर हो भनेर पछि बढेको छ ।
आगामी आवको बजेट आएपछि लगातार तीन दिन १०९ अंकले घटेको बजार सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार १६.५४ अंकले बढेको छ । बजार १६.५४ अंकले बढेर परिसूचक १८६६.३४ बिन्दुमा रोकिएको छ ।
२७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको ६.९६, विकास बैंक १८.६१, वित्त कम्पनीको ११.५१, होटल ५४.६५, जलविद्युत ३१.८३, जीवन बीमा ८५.६५, उत्पादन तथा प्रशोधन २४.४०, निर्जीबन बीमा समूहको उपसूचक १६९.३९ अंकले बढेको छ ।
कारोबारमा जोशी हाईड्रोपावर, बीपीडब्लू लघुवित्त, एशियन हाईड्रो, पाँचथर पावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै आत्मनिर्भर लघुवित्त, माइ खोला हाईड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।