सम्पूर्ण अपडेट

प्रचण्डको ‘पगरी’

140
Shares

वैशाख १० को उपनिर्वाचनको प्रचारप्रसारका बेला नेपाली कांग्रेसका चितवन जिल्ला पूर्वसभापति जितनारायण श्रेष्ठले प्रयोग गरेको ‘कांग्रेस सच्चिने कि सक्किने’ भन्ने पदावली अहिलेसम्म पनि निकै चर्चामा छ । तर, तीन पुस्ते जरा गाडेको मुलुककै करिब पुरानो दल नेपाली कांग्रेस यत्तिकै सकिने सम्भावना देखिँदैन । पार्टीभित्रको गुटबन्दी, परिवारवाद र नीतिगत भ्रष्टाचारले मात्र कांग्रेस सकिँदैन, सभापति शेरबहादुर देउवामार्काका नेता अझै केही वर्ष नेतृत्वमा रहिरहनुपर्छ । युवा भनेर चिनिएका तथा सम्भावना बोकेका गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेता देउवाजस्ता नेतासामु सधैं निरीह बनिरहनुपर्छ ।

कतिपयलाई तीतो लाग्न सक्छ तर यथार्थ, नेपालमा समकालीन राजनीतिज्ञमा संघीयता र गणतन्त्रात्मक राज्यव्यवस्थाको कसलाई बढी माया लाग्छ ? भनेर सोधियो भने स्वाभाविक रुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम लिनुपर्ने हुन्छ । संघीयता, गणतन्त्र र समावेशी राज्य व्यवस्थाको जग ५० को दशकको सुरुवातमै उनले थालनी गरेको ‘जनयुद्ध’ नै हो । २०५२ फागुन १ गते औपचारिक घोषणा गरेर सुरु भएको ‘तत्कालीन नेकपा माओवादीको ‘जनयुद्ध’ राजतन्त्र अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने उद्देश्य सफलीभूत हुने अवस्थामा पुगेपछि २०६३ मंसिर ५ गते अन्त्य भयो ।

राजनीतिक उद्देश्य पूर्तिका लागि प्रचण्डले नेतृत्व गरेको ‘जनयुद्ध’ १० वर्ष ९ महिना ७ दिन चल्यो । राज्य र विद्रोही माओवादी पक्षबाट नागरिक, नेपाली सेना, प्रहरी र विद्रोही गरी करिब १७ हजार मानिस मारिए । विश्वका विभिन्न देशमा वर्षौंवर्ष चलेका युद्ध र त्यसले निम्त्याएको विनाससँग तुलना गर्ने हो भने ‘प्रचण्डको जनयुद्ध’ निश्चित राजनीति लाभ प्राप्तिमा केन्द्रित थियो भन्ने स्पष्ट हुन्छ । किनकि, सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही पक्षबाट प्रचण्डले हस्ताक्षर गरेयता द्वन्द्वको घाउ बल्झिएको छैन ।

प्रचण्डकै कारण यो देशमा महिला, दलित, मधेसी, आदिबासी जनजाति, अपांगता भएका तथा तेस्रोलिंगीले राज्यका माथिल्लो निकायमा अवसर पाएका छन् । तर, पिछडिएको वर्गबाट हुने सहभागिताले केही व्यक्तिको मात्र हित भइरहेको छ कि समग्र राज्य व्यवस्थाप्रति सबैले अपनत्व गर्न सकेका छन् ? यो मुख्य प्रश्न हो । ‘प्रचण्डको जनयुद्ध’ विगतमा जस्तै राजनीति लाभ प्राप्तिका लागि मात्र थियो कि जनताको जीवनस्तर परिवर्तनका लागि थियो ? भन्ने अर्को महत्वपूर्ण प्रश्न हो ।

पहिलो संविधानसभा निर्वाचनमा २०६४ चैत २८ गते जनताले प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी माओवादीका करिब ४० प्रतिशत प्रतिनिधिलाई जिताए । त्यही जगमा २०६५ साउनदेखि २०६६ वैशाख २१ सम्म प्रचण्ड प्रधानमन्त्री बने । तर, जनताको जीवनस्तरभन्दा पनि राजनीतिक उपलब्धि संस्थागत गर्न मात्र केन्द्रित भएपछि माओवादीको ओरालो यात्रा सुरु भयो । देश संक्रमणकालमा थियो । पहिलो संविधानसभा संविधान बनाउन नसकेर विघटन भयो ।

२०७० सालमा दोस्रो संविधानसभा निर्वाचन भयो । त्यसमा माओवादीलाई जनताले तेस्रो स्थानमा पुर्‍याइदिए । सूचना प्रविधिबाट होस् या आफ्नै आँखाले होस्, संसार देखेका नेपाली जनताले विकास मात्र चाहेका छन् र नेपालमा वादसँग मतलब राख्ने झुन्ड निकै सानो छ भन्ने यसले स्पष्ट गरिदियो ।

पहिलो संविधानसभामा नेकपा एमाले र नेपाली कांग्रेसलाई भित्तामा पुर्‍याएका जनताले दोस्रो संविधानसभा निर्वाचनमा माओवादीलाई किनारा लगाए । राजनीतिक दाउपेच र खिचातानीका बीच २०७२ असोज ३ गते संविधान बन्यो । माओवादीकै भाषामा एक हिसाबले राजनीतिक उपलब्धि संस्थागत भयो । देशमा केन्द्र, प्रदेश र स्थानीय तहका गरी ७६१ सरकार गठन हुने आधार तयार भयो ।

केन्द्रीकृत राज्य व्यवस्थाले मुलुकको विकास हुन नसकेको विषयमा सबै एकमत भएपछि संविधान बनेको थियो । तेस्रो दल भएर पनि प्रचण्ड पुन: प्रधानमन्त्री बन्न सफल भए । २०७३ साउन १९ देखि २०७४ जेठ २३ सम्म प्रधानमन्त्री बन्न पाएका उनले स्थानीय तहको पहिलो चरणको निर्वाचन पनि गराए । संविधानमा लिपिबद्ध गरिएका कुरा २०७४ साल वैशाखदेखि मंसिरसम्म भएका चुनावले रक्षा गर्ने वातावरण बन्यो ।

एमाले र माओवादी या भनौं केपी शर्मा ओली र प्रचण्डले अप्रत्यासित रुपमा कुम जोडेपछि नतिजा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोल्टामा गयो । साविक नेकपा एमालेका अध्यक्ष एवं नेकपाका अध्यक्ष ओली प्रधानमन्त्री भए । पार्टी एकीकरण भयो । तर, ‘न भूतो न भविष्यति’ संघीयता र गणतन्त्रलाई कहिल्यै आत्मसात नगरेका र गर्न नसक्ने ओली र संघीयताका जननी प्रचण्ड लामो समय एकसाथ अघि बढ्न सकेनन् । नेकपा विभाजित भयो । सरकार चकनाचुर भयो । देश फेरि जनादेशविपरीत राजनीतिक अस्थिरताको भूमरीमा जाकियो ।

आफैँसँग विश्वास नभएका दलहरू एक-अर्कालाई भरोसा गर्दै २०७९ वैशाख ३० को स्थानीय तह निर्वाचन र मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी भए । जनतामा निराशा झाँगिँदै गयो । नयाँ राष्ट्रिय र क्षेत्रीय दल उदाए । माओवादी झन् खुम्चियो । कांग्रेस थोरै फुक्यो । एमालेले केही सिट गुमायो । रक्षात्मक बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनेकन् राजनीतिक दाउपेच मिलाएर प्रधानमन्त्री बन्न सफल भए । त्यसका लागि पहिला दोस्रो दल एमालेको साथ लिए । पछि, एमाले छाडेर कांग्रेस क्याम्पमा गए । अहिले कांग्रेससहित केही मसिना दलको साथमा सरकारको नेतृत्व गरिरहेका छन् ।

अब यो सबै इतिहास हो । हामी भविष्य खोजिरहेका छौं ।

संविधान बनेपछिका दुईवटा निर्वाचनले दलहरुलाई संघीयता र गणतन्त्रको रक्षा गर्दै विकास र आर्थिक उन्नतिमा अघि बढ्न प्रेरित गरेका छन् । तर, पहिलो निर्वाचनपछि संघीयता र गणतन्त्र दुवै नरुचाउने ओली प्रधानमन्त्री बन्दा प्रदेश र स्थानीय सरकारहरुले संविधानमै लेखेका अधिकार पनि पाउन सकेनन् । प्रदेश र स्थानीय तहलाई ओलीले स्वायत्त सरकारका रुपमा हेर्नै सकेनन् । केन्द्र सरकारको अंगका रुपमा मात्र लिए ।

अहिले चारतिर फर्किएका दलहरुको टेको लिएर प्रचण्डले सरकार चलाइरहेका छन् । सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल कांग्रेस आन्तरिक दबाब र लफडामा छ । एमालेबाट टुक्रिएर राष्ट्रिय दल बन्न नसकेको एकीकृत समाजवादी अस्तित्व रक्षाको लडाइँमा छ । सीके राउत नेतृत्वको जनमत पार्टीको मिसन बेग्लै छ । नागरिक उन्मुक्तिको राजनीतिक सिद्धान्त अदालतबाट जन्मकैद सजाय पाएका रेशम चौधरीको रिहाइवरिपरि घुमेको छ ।

देश आर्थिक रुपमा जर्जर छ । आन्तरिक उत्पादन शृंखला बिग्रिएको छ । दैनिक २१-२२ सय युवाशक्ति श्रम बेच्न खाडी र मलेसिया गइरहेका छन् । देश उनीहरुले पठाएको रेमिट्यान्सले चलेको छ । आर्थिक स्थिति अलि राम्रो भएका युवाको युरोप र अमेरिकातिर लर्को लागेको छ । विकसित देश पुगेका युवा स्वदेश फर्किने सम्भावना निकै कम छ । उनीहरु यहाँको आफ्नो सम्पत्ति ‘जसरी पनि’ र बाबुआमा ‘सकियो भने’ उतै लैजान हरप्रयासमा रहन्छन् । उच्च प्रशासक अधिकांशले पनि छोराछोरी उतै सेटल गरिसके । आफू पनि अलि पछि जाने त्यतै हो । नेताका छोराछोरी उतैको ग्रिनकार्ड र पीआर होल्डर बनिसके । यहाँको खेलोमेलो सकिएपछि उनीहरु पनि जाने उतै हो ।

गाउँहरु युवाविहीन बनेका छन् । बूढाबूढी, महिला र बालबच्चा सहर बजारतिर झरिसके । खेत बाँझो पल्टिएको छ । उत्पादन गर्न सक्ने जनशक्ति विदेश गएर पैसा पठाउने र त्यही पैसाले विदेशबाट सामान किनेर खाने अवस्थामा पुगेको छ देश । आन्तरिक रोजगारी सिर्जना हुन सकेको छैन । करिब २ दशकको अवधिमा धेरै उत्पादनमूलक उद्योग बन्द भइसके । नयाँ थपिएका छैनन् ।

देशको राजनीतिक संरचना एकातिर र आर्थिक नीति अर्कातिर भएकै कारण २०७४ साल मंसिरपछिका साढे ५ वर्षको अवधिमा विकासले गति लिन सकेन । किनकि, हरेक देश राजनीतिक व्यवस्थाअनुसारको आर्थिक नीति अवलम्बन गरेर नै विकास पथमा लम्किएका हुन्छन् । नागरिकता निराशा बढरहेको छ ।

यसअघि जे जति गल्ती भए पनि प्रधानमन्त्री प्रचण्डले ‘संघीयताअनुरुपको वित्त नीति’ लिन सकेनन् भने यो व्यवस्थामाथि उठिरहेको प्रश्नले ठूलो आकार लिने निश्चित छ  । र, यस्तो प्रतिकूल परिस्थितिलाई काबुमा राख्न सक्ने नेताले नै विश्व मानचित्रमा आफूलाई वर्षौं स्थापित गराउन सक्ने हो । प्रचण्डसामु दुई वटा विकल्प छन् । कि त आफूसँगै राजनीतिक व्यवस्थालाई पनि सक्ने कि त राजनीतिक व्यवस्थासँगै आफू पनि स्थापित हुने ।

यो विषम परिस्थितिबारे उनी स्पष्ट छन् । त्यही भएर देशको कायापलट गर्ने अभीष्ट राखेको भाषण पटक-पटक गरिरहेका छन् । तर, कुराले चिउरा भिज्दैन । प्रचण्डका अभिव्यक्ति वित्त नीतिमार्फत मुखरित हुनुपर्छ । त्यो भनेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट हो ।

मिलिजुली सरकार भएर हो वा प्रचण्डसँग दूरदर्शिता नै नभएर हो, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले खासै संकेत देखाएको छैन । किनकि, चालू आव र गत आवको नीति तथा कार्यक्रममा केही थपथाप र सम्पादन गरेर राष्ट्रपति रामचन्द्र पौडेलबाट वाचन गराइएको छ । २०६६ सालमा माधवकुमार नेपालको क्याबिनेटमा ऊर्जामन्त्री बनेका र २०७३ सालमा प्रचण्डकै क्याबिनेटमा परराष्ट्रमन्त्री बनेका डा. प्रकाशशरण महतबाट पनि ठूलो अपेक्षा गर्न सकिन्न ।

आगामी बजेटले तीन तहका सरकारलाई कानुनी र आर्थिक रुपमा बलियो बनाउनैपर्छ । संघीयताको पक्षपोषक भएका नाताले त्यसबारे प्रचण्ड पक्कै स्पष्ट छन् । उनले अर्थमन्त्री महतलाई हस्तक्षेप गरेर संघीय स्वरुपअनुसारको बजेट निर्माण गर्ने र कार्यान्वयन गर्ने पहलकदमी लिन सकेनन् भने कांग्रेसभन्दा पहिला माओवादी सिद्धिने त पक्कापक्की छ नै प्रचण्डले भिरिराखेको ‘संघीयताको पगरी’ पनि खुस्किने निश्चित छ ।