काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ ।

प्राधिकरणले रत्नपार्क र महाराजगन्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको हो ।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी संग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।

उनका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्‍याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः वितरण गर्दै जाने योजना बनाएको छ ।

प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगत रूपमा तार लगेर मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताए ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना छ । हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रका करिब १ लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ ।

काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ । यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिकरणले विकल्प सोच्न इन्टरनेट सेवाप्रदायकलाई आग्रह गर्दै आएको छ ।


क्लिकमान्डु