डाउनटाउन कम्पनीले ल्यायो सटही सुविधा, पुरानो घर छोडेर नयाँ घरमा बस्न सकिने



काठमाडौं । डाउनटाउन हाउजिङ कम्पनीले घर सटहीको सुविधा ल्याएको छ । कम्पनीले ग्राहकको सहजताका लागि घर सटहीको सुविधा ल्याएको हो ।

कम्पनीले ग्राहकसँग भएको पुरानो घर, जग्गा तथा फ्ल्याट छोडेर आफूले बनाएको हाउजिङमा बस्न सक्ने सुविधा ल्याएको हो । कम्पनीले निर्माण गरिरहेको धापाखेल र भैंसीपाटीको हाउजिङमा पुरानो घर छोडेर सहटीमा नयाँ घरमा बस्न सकिनेछ ।

अध्यक्ष मीनमान श्रेष्ठले ग्राहकले आफ्नो पुरानो घर छाडेर प्लानिङमा बनाएका नयाँ घरमा ग्राहक बस्न सक्ने बताए । उनका अनुसार कतिपय मानिसको आफ्नो घर पुरानो घर वा जग्गा बिक्री गरेर कोलोनीमा बसौंला भन्ने सपना हुन्छ ।

कतिपयले आफूसँग भएको फ्ल्याट बेचेर कोलोनी खरिद किन्न पाए हुन्थ्यो भन्ने चाहना हुन्छ । त्यसैले, कम्पनीले नयाँ सोचका साथ सटहीको सुविधा ल्याएको हो ।

‘अपार्टमेन्ट, पुरानो घर वा जग्गा बिक्री गरेर कोलोनीमा बस्न इच्छुक ग्राहकलाई लक्षित गरेर सहजताका लागि यो सुविधा ल्याएको हो,’ उनले भने ।

कम्पनीले कुनै ग्राहकले आफूसँग भएको घर, जग्गा तथा फ्ल्याट बिक्री गरेर कोलोनीमा बस्न चाहेको अवस्थामा ग्राहकसँग भएको सम्पत्तिको मूल्यांकन कम्पनीले गर्नेछ । मूल्यांकन गरेको सम्पत्तिका आधारमा डाउनटाउनले बनाएको कोलोनीमा रकम थप गरेर बस्न सकिनेछ ।

अहिले कम्पनीसँग ३ करोड रुपैयाँबराबरका घर उपलब्ध छन् । मानौं, कुनै ग्राहकसँग डेढ करोड रुपैयाँको घर छ । ग्राहक सो सम्पत्ति बेचेर डाउनटाउनको कोलोनीमा बस्न चाहेको अवस्थामा सम्पत्तिको मूल्यांकन गरेर डेढ करोड रकम घटाएर रकम तिर्न सक्नेछन् ।

‘ग्राहकको सम्पत्ति कम्पनीले नै लिनेछ । त्यसपछि १० प्रतिशतका दरले रकम तिर्दै जान सक्नेछन्,’ उनले क्लिकमान्डुसँग भने, ‘अब ग्राहकहरु कहिले बेचौंला र कोलोनीमा बसौंला भन्ने चिन्ताबाट मुक्त हुनेछन् ।’

कम्पनीले ग्राहकको सहजताका लागि यो सुविधा ल्याएको उनले जानकारी दिए । कम्पनीले धापाखेलमा सयभन्दा बढी र भैंसीपाटी खोकनामा १७ वटा घर बनाइरहेको छ । ‘हालसम्ममा सटही सुविधा ल्याएसँगै ५ वटा घरको कारोबार गरिसकेका छौं,’ उनले भने ।

तर, अहिले होम लोनका कारण बुकिङ सुस्त भएकाले कारोबारमा धक्का पुगेको उनले बताए । हाल कम्पनीसँग खोकनामा ४ वटा हाउजिङ बाँकी छन् भने धापाखेलमा ६६ वटाभन्दा बढी घर उपलब्ध छन् ।


क्लिकमान्डु