बालकृष्ण खाणलाई तत्कालै कांग्रेसले निलम्वन गर्नुपर्छ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्न नहुने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट नाम जोडिएका नेता बालकृष्ण खाणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने माग गरे ।

उनले अनुसन्धानमा पार्टी जोडिन नहुने र अनुसन्धानबाट दोषी ठहरिए सबैलाई कारबाही हुनुपर्ने बताए ।

यो प्रकरण राष्ट्रबिरुद्धको अपराध भएको उनले बताए । कुनै पनि पदमा बसेको व्यक्ति अभियोग लागिसकेपछि निर्दोष नहुन्जेसम्म स्वतः निलम्वनमा पर्ने बताए । पार्टीको बैठकमा यसबारेमा छलफल भएपनि केही नेताहरुले पार्टीको परम्परा नरहेको भन्दै पन्छिन खोजेकाले परम्परा तोडेर भएपनि निलम्वन गर्न आवश्यक रहेको उल्लेख गरे ।

एउटा कुनै पदमा जिम्मामा बसेको मान्छे, कतै पनि छ भने अभियोगमा लागेपछि त्यो स्वतः निलम्वनमा पर्छ । प्रमाणित भएन भने स्वतः आउँछ । यो आग्रह, पूर्वाग्रह होइन’ थापाले भने, ‘ केही साथीहरुले परम्परा छैन भन्नुभयो, यदी यो परम्परा छैन भने परम्परा तोड्नुपर्छ । गलत कुरालाई परम्पराको नाममा बोकेर हिँड्नु हुँदैन । पार्टीका मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्रष्टाचारी हुन सक्दैन । अहिले तत्कालै पार्टीले उहाँलाई निलम्वन गरी आफूबाट अलग राख्नुपर्छ । अनुसन्धानमा कतैपनि पार्टी कतै पनि देखिनु हुँदैन । जोसुकैमाथि जरा जहाँसम्म पुगेको भएपनि त्यो ठाउँसम्म कारबाही हुनुपर्छ ।’

महामन्त्री थापाले लोक रिजाइनको राजनीति हाबी भएको भन्दै मानिसलाई उचाल्ने काम भइरहेको बताए ।


क्लिकमान्डु