चिकित्सकको परामर्श शुल्क ४२० देखि ९४० रुपैयाँसम्म



काठमाडौं । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएका छन् । संघका महासचिव डा. सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्कमा १४ प्रतिशत वृद्धि गरिएको जानकारी दिए ।

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुन्जेलसम्मका लागि बहिरंग सेवा शुल्क (ओपीडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क ९४० देखि ४२० रुपैयाँसम्म तोकिएको जानकारी गराए । नयाँ शुल्कअनुसार ५ वर्षसम्म अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क ४२० र ५ वर्षमाथि अनुभव भएकाको ५१५ रुपैयाँ तोकिएको छ ।

यस्तै ५ वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५९० र त्योभन्दा बढी अनुभव छ भने ६७० तथा ५ वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकको ७५० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुका लागि ८०० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै ५ वर्षसम्मको अनुभव भएका डीएम/एमसीएच तहका चिकित्सकको ८८० तथा ५ वर्षमाथि अनुभव भएका एमडी/एमसीएच तहका चिकित्सकको ९४० र १० वर्षमाथिको अनुभव भएका एमडी/एमएस/एमडीएसका चिकित्सकको ९४० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।


क्लिकमान्डु