नयाँ र पुराना ब्रोकरबीच जुहारीः भ्रष्टाचार भएको प्रमाणित नगरे कानुनी उपचार खोज्ने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४३ वटा ब्रोकर कम्पनीलाई आयशपत्र दिनासाथ नयाँ स्टक ब्रोकरको एसोसिएसन खुलेको छ । सागर ढकालको नेतृत्वमा न्यू स्टक ब्रोकर एसोसिएसन नेपाल गठन गरिएको हो ।
नयाँ एसोसिएसन खुल्नासाथ नयाँ र पुरानो एसोसिएसनको वाक युद्ध सुरु भएको छ ।
न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले विज्ञप्ति जारी गर्दै ‘संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरुको संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मिति २०८०/०१/२९ गते जारी गरेको भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको हाम्रो ठहर छ’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विज्ञप्तिमार्फत स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालिन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति ( आशयपत्र ) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको छ ।’
आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न चुनौति दिएको छ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।