घाटामा रहेको नेपाल रिपब्लिक मिडियाको आईपीओ निष्कासन
काठमाडौं । वित्तीय अवस्था कमजोर रहेको नेपाल रिपब्लिक मिडियाले रोजगारीका लागि विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओ निष्कासन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्म कम्पनीको नाफा ४७ करोड २४ लाख १० हजार ७५२ रुपैयाँ ऋणात्मक रहेको छ । आगामी तीन वर्षमा पनि कम्पनी नाफा नजाने देखिएको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ २२ पैसा र प्रति सेयर नेटवर्थ ८६ रुपैयाँ १३ पैसा रहेको छ ।
कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा जेठ १४ गतेसम्म आवेदन दिनसक्नेछन् ।
कम्पनीले ४३ करोड ५३ लाख रुपैयाँ ४३ लाख ५३ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमा १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३५ लाख २५ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा न्यूनतम १० देखि अधिकतम ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।