साविक यूनियन लाइफका बिमितले कति पाउँछन् बोनसदर ?



काठमाडौं । साविकको यूनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बिमितलाई दिने बोनसदर सार्वजनिक गरेको छ ।

कम्पनीले उक्त आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा दायित्व मूल्याङ्कन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट बैशाख १७ गते स्वीकृति पाएपछि बिमितले पाउने बोनसदर सार्वजनिक गरेको हो ।

जसअनुसार २०७९ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बिमालेखहरुमा प्रतिवर्ष प्रति हजार बिमाङ्क रकममा वोनसदर निर्धारण गरेको छ । कम्पनीले बिमा योजना र अवधिका आधारमा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर सार्वजनिक गरेको हो ।

सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना अन्तर्गत बिमा अवधिको आधारमा बिमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँसम्म पाउनेछन् ।

सिमित भुक्तानी सावधिक जीवन बिमा योजनामा (एकल) मा न्यूनतम २७ रुपैयाँदेखि ४२ रुपैयाँ, सिमित भुक्तानी सावधिक जीवन बिमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँ र सावधिक तथा आजीवन जीवन बिमा योजनामा न्यूनतम ४० रुपैयाँ देखि ७४ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

यस्तै, सिमित भुक्तानी सार्वधिक तथा आजीवन जीवन बिमा योजनाका सबै वर्षका बिमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनसदर पाउने भएका छन् ।

वार्षिक अग्रिम भुक्तानी जीवन बिमा योजना अन्र्तगत बिमा अवधिको आधारमा न्यूनतम १९ रुपैयाँदेखि २७ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बिमा योजनामा न्यूनतम २४ रुपैयाँदेखि ४१ रुपैयाँ बोनसदर पाउनेछन् ।

यस्तै,जीवन आधार जीवन बिमा योजनामा ५० रुपैयाँ, जीवन उत्थान जीवन बिमा योजनामा र जीवन आवरण जीवन बिमा योजनामा ४० रुपैयाँ बोनस पाउनेछन् ।

उल्लेखित बिमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मल्य दाबी, चुक्ता मूल्य तथा चालू बिमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु