पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बन्यो ‘हिमालयन लाइफ, कारोबार सुरु



काठमाडौं । मर्जर प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।

कम्पनीहरुले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले वैशाख २९ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।

नयाँ बनेको कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियन लाइफ प्रमुख कार्यकारी अधिकृत(सीइओ) मनोजलाल कर्ण चयन भएका छन् ।

नेपाल बीमा प्राधिकरणले यी तीनवटै कम्पनीहरुलाई वैशाख १३ गते एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते तीन वटै कम्पनीहरुलाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट यी कम्पनीहरुले वैशाख २० गते मर्जरमा जाने अन्तिम स्वीकृत पाएका थिए ।

जीवनतर्फ पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी

नेपाल बिमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिनु भन्दा अघि बजारमा १९ वटा जीवन बिमा कम्पनीहरुले जीवन बिमाको व्यवसाय गर्दै आएका छन् ।

प्राधिकरणले पुँजी वृद्धिको नीति लिएपछि जीवन बीमा कम्पनीतर्फ ९ कम्पनी चार वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागि भएका थिए । जसमध्ये ७ कम्पनी ३ वटामा कायम हुने गरी(हिमालयन लाइफसहित) एकीकृत कारोबार गरिसकेका छन् । अझै जीवन बिमा कम्पनीतर्फ मर्जर प्रक्रियामा सहभागि भएका ९ मध्ये २ वटाको भने एकीकृत कारोबार हुन बाँकी छ । मर्जरपश्चात जीवन बीमा कम्पनीको संख्या १४ वटा कायम हुने छ ।

‘हिमालयन लाइफ इन्स्योरेन्स’ जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बनेको छ । प्राइम लाइफको चुक्ता पुँजी दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७२ करोड रुपैयाँ नाघेको छ ।

यस्तै, नेपाल लाइफ इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो कम्पनी बनेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ माथि छ । जुन नियामकले तोकेको न्यूनतम चुक्ता पुँजी भन्दा बढी हो ।


क्लिकमान्डु