मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो



तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ मा रहेको मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।

तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताए । विगत वर्षको तुलनामा यस वर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उनले जानकारी दिए ।

पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको बहाव वृद्धि भएको समयमा तीनवटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको (६९ मेगावाट) विद्युत् उत्पादन हुन्छ ।

‘नदीमा पानीको मात्रा आधा कम भएकाले उत्पादन पनि सोही अनुसार घट्दै गएको छ,’ प्रमुख फुँयालले भने, ‘साँझ र बिहान बिजुलीको माग धेरै हुने भएकाले नदीको पानी दिउँसो रिजर्भ ट्याङ्कमा जम्मा गरेर लैजाने र साँझ र बिहान भने पूर्ण उत्पादन बढाउने गरिएको छ ।’

यतिबेला सुक्खा याम भएकाले उत्पादनमा कमी आएको तर हिमालमा प्रशस्त हिउँ परेको भए प्रतिदिन झन्डै १० युनिट बढी विद्युत् उत्पादन गर्न सकिने उनले जानकारी दिए । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौंको स्टेसनमार्फत राष्ट्रिय प्रसारणलाइनमा जोडी वितरण हुँदै आएको छ । (रासस)


क्लिकमान्डु