थ्रीस्टर हाईड्रोपावरको आईपीओमा परेन माग अनुसार आवेदन
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि समय थपिएको छ ।
कम्पनीले आयोजना प्रभावितका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजसम्म आवेदन दिने समय रहेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित स्थानीले अब जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैशाख ११ गतेदेखि आईपीओ निष्कासन भएको हो ।
कम्पनीले ४ करोड ९२ लाख ५० हजार रुपैयाँ ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छ । कम्पनीले खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका– १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) का स्थानीयका लागि निष्कासन गरेको हो ।
यस्तै दिप्रुङ चुईचुम्मा गाउँपालिका– १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का स्थानीयका लागि सेयर निष्कासन गरेको हो । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ लाख ८७ हजार ५०० रुपैयाँको ७३ हजार ८७५ कित्ता सेयर निष्कासन गरेको छ ।
आईपीओमा स्थानीयले १० देखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७३ हजार ८७५ कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो सेयर र सी–आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास र प्रभु बैंकको स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।