नयाँ स्टक एक्सचेन्जका नाममा भ्रष्टाचार भयो, धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न सांसदको माग



काठमाडौं । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने नाममा भ्रष्टाचार गरिरहेका धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई कारबाही गर्न माग गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले हमाललाई कारबाही गर्न माग गरेका हुन् ।

‘म मभामुख महोदयलाई अनुरोध गर्न चाहन्छु, स्टक एक्सचेन्जको लाइसेन्स दिने रमेश हमाललाई कारबाही गर्नुपर्छ, कानुनअनुसार कारबाही हुनैपर्छ,’ उनले भने, ‘मसँग रिपोर्ट छ, नेप्से पुन:संरचना अध्ययन प्रतिवेदन २०७९ छ, त्यो बेला गठबन्धनको सरकार थियो, त्यो प्रतिवेदन लागू नगर्ने, चोर बाटोबाट लाइसेन्स दिने र हिमालयन रि-इन्स्योरेन्सलाई लाइसेन्स लिए जस्तो अर्बौं खाने काम भयो । यो अर्बौं खानेहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ ।’

उनले प्रतिनिधि सभाको बैठकमा बोर्डले निजी क्षेत्रलाई स्टकको लाइसेन्स दिन लागेको सन्दर्भ उल्लेख गर्दै दूरसञ्चार प्राधिकरण प्राइभेट क्षेत्रलाई दिन मिल्छ ? के सर्वोच्च अदालत प्राइभेटलाई दिन मिल्छ ? नेपाल सरकार प्राइभेटलाई दिन मिल्छ ? भन्दै प्रश्न गरे ।

‘त्यस हो भने प्रधानमन्त्रीलाई अनुरोध छ, सबै प्राइभेटलाई दिऔँ,’ उनले भने, ‘नेपालको अर्थतन्त्र नेपालीको हातमा होस् कि सरकारले २-४ अर्ब भ्रष्टाचार गर्न नेपालको अर्थतन्त्र पनि विदेशीको हातमा दिने ?’

उनले नेप्सेको लाइसेन्स दिने नाममा हुने भ्रष्टाचारसहित पोखरा एयरपोर्ट र वाइडबडीको भ्रष्टाचारको पनि छानबिन गर्न माग गरे ।


क्लिकमान्डु