पुँजीबजार २० महिनादेखि घटिरहेको भन्दै सांसद ढकालद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य हरि ढकालले नेपालको पुँजीबजार विगत २० महिनादेखि निरन्तर घट्दो अवस्थामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले यसक्रममा लगानीकर्ताहरुले करिब १७ अर्ब लगानी गुमाइसकेको बताए । नियामक निकायले मौद्रिक नीतिमार्फत् गलत औजार प्रयोग गरेका कारण राजस्व योगदानसमेत घटेको उनको भनाइ छ ।

‘५६ लाख लगानीकर्ताले लगानी गरेको नेपालको पुँजी बजार विगत २० महिनादेखि निरन्तर घटेको छ । लगानीकर्ताहरुले करिब १७ खर्ब आफ्नो लगानी गुमाइसके,’ सांसद ढकालले भने, ‘नियामकले मौद्रिक नीतिमार्फत् गलत औजार प्रयोग गर्‍यो, अव्यवहारिक औजार प्रयोग गर्‍यो । जसका कारण २० महिना अगाडि नेपालको पुँजी बजारले मासिक ३.२५ अर्ब राजस्व योगदान गर्थ्यो । अहिले जम्मा महिनाको ५ करोड मात्रै योगदान गर्नसकेको छ । यो विषयमा संवेदनशिल हुन अर्थमन्त्रीज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’


क्लिकमान्डु