सांसद सिंहको दाबी- नयाँ स्टक एक्सचेन्ज र कमोडिटी लाइसेन्स भ्रष्टाचारको अखडा



काठमाडौं । सांसद अमरेशकुमार सिंहले नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सेचेन्जका नाममा ठूलो भ्रष्टाचार हुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सरकार अहिले गम्भीर आर्थिक संकटमा रहेको र भ्रष्टाचारको दलदलमा फसेका बेला सरकारले नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्सका नाममा भ्रष्टाचार गर्न लागिपरेको बताए । नयाँ स्टक र कमोडिटीको लाइसेन्स दिने नाममा भ्रष्टाचार सुरु भएको उनको भनाइ छ ।

नेपालभन्दा ६ हजार गुणा ठूलो अर्थतन्त्र, ५० गुणा बढी जनसंख्या भएको मुलुक चीनमा २ वटा र नेपालभन्दा एक हजार गुणा ठूलो अर्थतन्त्र रहेको भारतमा २ वटा स्टक रहेको उनले स्मरण गराए । सरकारी स्वामित्व रहेको नेपाल स्टक एक्सचेन्जलाई कसरी सिध्याउने भनेर सरकार लागिपरेको उनको आरोप छ ।

सरकारले नेप्सेलाई वर्षौंदेखि निजीकरण गर्ने योजना थाँती राखेर अर्को स्टक ल्याउने र प्रतिस्पर्धा गराउने निर्णय हास्यास्पद रहेको सांसद सिंहले बताए । नेप्सेलाई सिध्याउन खोजेर अर्को स्टक ल्याउन लागेको र यसमा धेरै भ्रष्टाचार हुने भन्दै विरोध गर्न उनले सबैलाई आग्रह गरे ।

नयाँ स्टकमा लगानी गर्न आकांक्षा राख्नेहरुलाई नेप्सेको सेयर किन बिक्री नगर्ने भन्दै उनले प्रश्न गरेका छन् । नयाँ स्टक थप्ने योजना कुन नीतिअनुसार आएको हो ? उनको प्रश्न छ । सांसद सिंहले घोषित नीति, रणनीतिअनुसारका काम थाँती राखेर अँध्यारो कोठामा बुनिएको तानाबानालाई अगाडि बढाउने कार्य आपराधिक भएको दाबी गरे ।

नेपाल धितोपत्र बोर्ड सरकारी निकाय भएको र ६० अर्ब रूपैयाँबराबरको जायजेथा भएको सरकारी निकायको जगेर्ना तथा संरक्षण गर्ने दायित्व कसको हो ? भन्दै उनले प्रश्न गरेका छन् ।

नियामक निकाय आफैंले नियमन तथा सुपरीवेक्षण गर्दै आएको निकायलाई कुनै निकास नै नदिई जबर्जस्ती प्रतिस्पर्धा गराउँछु भनेर नयाँ स्टक ल्याउन खोज्नु अख्तियारको सिधै दुरुपयोग भएको उनको ठहर छ ।

‘नेपाल धितोपत्र बोर्डले अध्ययन प्रतिवेदनका आधारमा स्टक एक्सचेन्ज थप्ने निर्णय गरेको भने पनि अध्ययन कसले गराएको, अध्ययन गर्ने विज्ञ को हो ?’ उनले प्रश्न गरे, ‘अहिले दुईवटा स्टक एक्सचेन्जको आवश्यकता किन परेको हो ? कसलाई चाहिएको हो ?’


क्लिकमान्डु