घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता कति ?



काठमाडौं । घोराही सिमेन्टले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आईपीओ स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँको दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले उद्योग प्रभावित दाङ जिल्लाको घोराही उप–महानगरपालिका–१, २, ३, ४, १४, १५, १७, १८ र १९ का स्थानीय, दाङ जिल्लाको बंगलाचली गाँउपालिका– ३, ४ र रोल्पा जिल्लाको त्रिवेणी गाँउपालिका– ३ र ४ का बासिन्दाका लागि छुट्याएको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ७ लाख ५४ हजार ६६१ कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओमा स्थानीयले वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा जेठ १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले हिमालयन, नबिल, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल एसबिआई, प्रभु, कुमारी, एनएबि, सानिमा र ज्योति विकास बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।


क्लिकमान्डु