नयाँ स्टकका लागि तीन कम्पनीको आवेदन, कसले मार्ला बाजी ?



काठमाडौं । नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा घरानाले आवेदन दिएका छन् । शुक्रबार एउटा र आइतबार दुईवटा घरानाले आवेदन दिएका हुन् ।

शुक्रबार हिमालयन स्टक एक्सचेन्जले मात्रै आवेदन दिएको थियो । आइतबार भने नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

धितोपत्र बोर्डले एउटा कम्पनीलाई स्टक एक्सचेन्जका लागि अनुमति दिनेछ । तीनवटै शक्तिशाली घराना भएकाले कसले अनुमति फुत्काउँछ यसै भन्न सकिने स्थिति छैन ।

हिमालयनमा दीपक भट्ट, शंकर ग्रुप, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, भवानी राणा, निवर्तमान अध्यक्ष शेखर गोल्छा, राजेन्द्र खेतान,  सौरभ ज्योतिलगायतको लगानी छ ।

यस्तै नेसनल स्टकमा सिद्धार्थ ग्रुप, दीपक तिमिल्सिना, गैरआवासीय नेपाली, अग्नि ग्रुपलगायतको मुख्य लगानी छ । नेसनलमा एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, हालका अध्यक्षद्वय बद्री केसी र कुल आचार्यको लगानी छ ।

नेसनल स्टकको प्रस्तावित सञ्चालकमा दीपक तिमिल्सिना, महेशकुमार श्रेष्ठ, ऋषि अग्रवाल, अंकित केडिया र स्वतन्त्र सञ्चालकमा रामजी रेग्मी छन् ।

अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, शेखर सुवेदीलगायतको लगानी रहेको बताइएको छ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिनका लागि बाटो खोलेपछि दीपक भट्टको समूह, गैरआवासीय नेपाली तथा नेपालका केही घराना र अन्य केही व्यावसायिक घरानाको आवेदन परेको छ ।


क्लिकमान्डु