विजयश्री स्टिलको व्यापार १२ प्रतिशतले घट्यो, बजारमा माग नहुँदा यो वर्षको व्यापार झनै नाजुक



काठमाडौं । विजयश्री स्टिल प्रालिको व्यापार १२ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ११.७९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा भने कम्पनीले ४ अर्ब ७१ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा ३ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२२ मा डण्डीको माग कम हुँदा व्यापारमा असर पुगेको कम्पनीले जनाएको छ । जसले गर्दा नाफामा पनि प्रभाव परेको छ । कम्पनीले सन् २०२२ मा ४७ हजार ५२१ मेट्रिक टन बिक्री गरेको छ । उक्त परिमाण सन् २०२१ को तुलनामा ३२ प्रतिशतले कम हो ।

त्यस्तै, कम्पनीले सन् २०२३ को ६ महिनाको अवधिमा ८९ करोड ४० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा सोही अवधिमा २ अर्ब ५० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । चालू आर्थिक वर्षमा आर्थिक मन्दीले गर्दा बजारमा माग नहुँदा व्यापारमा उच्च गिरावट आएको कम्पनीको भनाइ छ ।

कम्पनीले विशेषगरी भारतबाट स्पञ्ज आइरन र पिग आइरन आयात गरी डण्डी उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले गरेको व्यापारमध्ये ९४ प्रतिशत हिस्सा कच्चा पदार्थको रहेको छ ।

सन् २०१७ मा कपिलवस्तुमा उद्योग स्थापना गरी टीएमटी बार उत्पादन गर्दै आएको कम्पनीले दैनिक ७ सय मेट्रिक टन टीएमटी बार र सीसीएम उद्योगबाट दैनिक ४ सय मेट्रिक टन बिलेट उत्पादन गर्दै आएको छ । कम्पनीले सन् २०१८ देखि व्यापार गर्न सुरु गरेको थियो । तर, सीसीएमसी अर्थात् विलेटको व्यापार भने सन् २०२३ को फेब्रअरीबाट सुरु गरेको छ ।

सिमेन्ट क्षेत्रमा देशभर चार वटा डिलर रहेको कम्पनी विजय ग्रुपद्वारा सञ्चालित छ । विकास केडिया सञ्चालिक समिति रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ४ अर्ब ६ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १६ करोड रुपैयाा अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ गराएको छ ।


क्लिकमान्डु