पुरानै १० बुँदे माग बोकेर बोर्ड पुगे लगानीकर्ता, ब्रोकर कमिसन ०.१५% कायम गर्न आग्रह




काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएपछि लगानीकर्ताका विभिन्न संघ संस्थाले धितोपत्र बोर्डमा १० बुँदे मागपत्र पेश गरेका छन् ।

लगानीकर्ताका संघ संगठनले बजार घटेपछि बोर्ड अध्यक्ष हमाल समक्ष १० बुँदे माग पेश गरेका हुन् । ‘विगत लामो समयदेखि निरन्तर रुपमा घटिरहेको पुँजीबजारले आम लगानीकर्ताहरूमा पर्न गएको आर्थिक तथा मनोवैज्ञानिक असर प्रति लगानीकर्ताका संघ संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ, ‘नेपालको पुँजीबजारको इतिहासमा सबैभन्दा बढि पुँजीकृत रकम १५ खर्बको हाराहारी भन्दा बढि गुमाईसक्दा पनि सम्बन्धित निकायहरू मौन रहनाले ५५ लाख भन्दा बढि लगानीकर्ता मर्माहत भएका छौं ।’

लगानीकर्ताले माग पत्रमा लगानीकर्ताहरूको बढ्दो शेयर खरिद बिक्री लागतलाई न्यूनिकरण गर्न हाल रहेको महंगो ब्रोकर कमिसन ०.१५ प्रतिशतबाट नबढ्ने गरी कमिसन दर तत्काल पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । यस्तै डि. पी. चार्ज २५ रुपैयाँ रहेको भन्दै त्यसलाई घटाएर ५ रुपैयाँ कायम गर्न माग गरिएको छ ।

यस्तै दीर्घकालिन लगानीकर्ता र अल्पकालिन लगानीकर्ताको वर्गिकरण गरी दीर्घकालको लागि ३ प्रतिशत र अल्पकालका लागि ५ प्रतिशत पूँजीगत लाभकर कायम गर्न माग गरिएको छ ।

यस्तै दोस्रो बजारमा हुने अस्वाभाविक उतार चढावलाई न्यूनीकरण गर्न मार्केट मेकर, मार्केट डिलर, धितोपत्र व्यापारी तथा संख्यागत लगानीकर्ताहरूलाई छिटो भन्दा छिटो बजार प्रवेशको वातावरण श्रृजना गर्न माग गरिएको छ ।

ब्रोकर कम्पनी मार्फत सुरु गर्ने भनिएको मार्जिन लेन्डिङको व्यवस्था अविलम्ब सुचारु गर्न माग गरिएको छ । राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको सिमा १२ करोड लागु गरिएकोमा उक्त १२ करोडको नीतिलाई तत्काल खारेजी गर्न विशेष पहल गर्न माग गरेको छ । यस्तै राष्ट्र बैंकले ल्याएको सेयर कर्जाको भारित औषत दर १०० प्रतिशत नै कायम गर्न विशेष पहल गर्न माग गरेको छ ।


क्लिकमान्डु