रुससँगको व्यापारमा चीन र भारतबीच ‘सफ्ट वार’: रुसले छोड्ला चीनको दबाबमा भारतको साथ ?



एजेन्सी । भारतीय विदेशमन्त्री एस. जयशंकरलाई सन् २०२२ फेब्रुअरी २१ मा एउटा प्रश्न सोधिएको थियो- चीनको विषयमा भारत किन कठोर रुपमा प्रस्तुत हुँदैन ?

यो प्रश्नको जवाफमा जयशंकरले समाचार एजेन्सी एएनआईकी स्मिता प्रकाशलाई भनेका थिए, ‘चीन ठूलो अर्थव्यवस्था हो । तपाईंलाई के हामी सानो अर्थव्यवस्था भएको मुलुकको रुपमा ठूलो अर्थव्यवस्था भएको देशसँग युद्ध गर्न जानुपर्छ भन्ने लागेको छ ? कुरा कठोर भएर प्रस्तुत हुने नभएर ध्यानपूर्वक कदम चाल्ने हो ।’

एस. जयशंकर सन् २००९ देखि सन् २०१३ सम्म चीनका लागि भारतीय राजदूत थिए । उनले चीनभित्रको राजनीति र चीनको शक्तिलाई नजिकबाट बुझेका छन् । उनले करिब १८ ट्रिलियन अमेरिकी डलरको चिनियाँ अर्थव्यवस्थासँग लगभग ३.५ ट्रिलियन अमेरिकी डलरको अर्थव्यवस्था भएको भारतले द्वन्द्व गर्न सहज नभएको बताउन खोजेका थिए ।

जयशंकरलाई भारत आफ्नो रक्षा आपूर्तिका लागि रुसमाथि निर्भर भएको पनि थाहा छ । जसकारण अरुको आडमा द्वन्द्व लड्न नमिल्ने उनले बुझेका छन् । झन् युक्रेन युद्धपछि रुस र चीनबीचको सम्बन्धमा थप निकटता आएको समयमा चीनसँग कुनै पनि किसिमको द्वन्द्व सुरु गर्न नमिल्ने अवस्था छ । युक्रेन युद्धका कारण चीनमाथि रुसको निर्भरता निरन्तर बढिरहेको छ । र, यसलाई भारतका लागि नकरात्मक भएको रुपमा लिइएको छ ।

गत वर्ष फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीनमा आयोजित विन्टर ओलम्पिकको उद्घाटन समारोहमा उपस्थित हुन चीन पुगेका थिए । फेब्रुअरी ४ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ र पुटिनबीचको भेटवार्तापछि संयुक्त घोषणा जारी गरिएको थियो ।

यो घोषणा दुई देशबीचको साझेदारी सिमानाभन्दा धेरै रहेको र दुवै देशबीच सहयोग वर्जित भएका कुनै पनि क्षेत्र नभएको बताइएको थियो । यो घोषणा भएको ठीक २० दिनपछि अर्थात् २४ फेब्रुअरी २०२२ मा पुटिनले युक्रेनमाथि सैन्य आक्रमण घोषणा गरेका थिए ।

भारतका पूर्वविदेश सचिव तथा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्ड (इन्डियन नेसनल सेक्युरिटी एड्भाइजरी बोर्ड)का अध्यक्ष श्याम सरन युक्रेन हमलापछि चीन र रुसको साझेदारी थप बृहत् भएको बताउँछन् । यसका दुईवटा कारण भएको उनी दाबी गर्छन् । पहिलो कारण, चीनलाई अमेरिका र अमेरिकानिकट रहेका देशले यो युद्ध रोक्न चाहने भएकाले हो ।

हालै सम्पन भएको चीनको नेसनल पीपल्स कंग्रेसमा चिनफिङले भनेका थिए, ‘अमेरिकाकै नेतृत्वमा पश्चिमा देशले चीनलाई दबाउन हरेक किसिमका नियम लागू गरेका छन् । यसले समृद्धिको बाटोमा चीनले कयौं अप्रत्यासित चुनौती सामना गर्नुपरेको छ ।’

चीनको शीर्ष नेतृत्वले अमेरिका र पश्चिमा देशलाई प्रत्यक्ष रुपमा खुलेरै आरोप लगाएको यो नै पहिलो पटक थियो । यस सन्दर्भलाई नियाल्ने हो भने चीन र रुसबीचको साझेदारीको कारण अमेरिका र पश्चिमा देशको विरोधसँग जोडिएको छ । उनीहरु पश्चिमा मुलुकलाई रोक्न चाहन्छन् ।

चिनफिङ गत महिना मार्च २१ देखि २३ सम्म रुस पुगेका थिए । यो भ्रमणका क्रममा उनले रुससँग चीनको मित्रतालाई थप स्पष्ट बनाउँदै भनेका थिए, ‘अधिनायकवाद, निरंकुशता र दादागिरिको सामना गर्न व्यापक साझेदारी र रणनीतिक संवाद आवश्यक छ ।’

रुस र चीन दुवै देशले अहिलेको समयमा प्रभुत्व भए पनि अमेरिका र पश्चिमा मुलुकको दबदबा ढल्न लागेको अवस्थामा पुगेको मान्छन् । दुवै देशले हाल शक्ति सन्तुलनमा परिवर्तन आइरहेको र परिवर्तनपछि शक्ति सन्तुलन उनीहरुतर्फ झुक्ने अनुमान गरिरहेका छन् ।

रुसकै भ्रमणको क्रममा चिनफिङले पुटिनसँग भनेका थिए, ‘जुन परिवर्तन विगत सय वर्षमा भएको थिएन, त्यो अहिले भइरहेको छ । हामी यो परिवर्तनलाई साथ लिएर अघि गइरहेका छौं ।’

पुटिनले प्रतिउत्तरमा भनेका थिए, ‘म पनि यसमा सहमत छु ।’

चीनको प्रभावमा रुसले छोड्ला भारतको साथ ?

श्याम सरनले भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा लेखेका थिए, ‘युक्रेन संकटमा चीन अब तटस्थ मुलुक होइन । चीन स्पष्ट रुपमा रुसको समर्थनमा देखिएको छ । अन्तर्राष्ट्रिय समीकरणमा यो एउटा महत्वपूर्ण परिवर्तन हो । चीन अहिले यस्तो अवस्थामा आएको छ, जसले रुस र भारतबीचको सम्बन्धमा प्रभाव पार्न सक्छ । यो सम्बन्धलाई सीमित गर्न सक्छ । भारत र रुसबीचको रक्षा सम्बन्धमा चीनको प्रभाव पार्न सक्ने हैसियत भएको छ ।’

यस्तोमा भारतको विदेश नीति र सुरक्षा समीकरणका विषयमा सोध्न आवश्यक भएको उनले लेखेका थिए । उनका अनुसार चीन-रुस साझेदारीमा रुस स्पष्ट रुपमा ‘जुनियर पार्टनर’ बनेको छ । यो कुनै इच्छाले भन्दा पनि बाध्यताका कारण भइरहेको छ ।

रुससँगको सहकार्यबाट चीनले आर्थिक र ऊर्जा साझेदारीमा पर्याप्त फाइदा लिइरहेको छ । चीनमा रुसको प्राकृतिक ग्यासको आयातमा पनि ५० प्रतिशतभन्दा धेरै वृद्धि भएको सरनले बताएका छन् ।

‘रुस र चीनबीच कयौं नयाँ ग्यास पाइपलाइन निर्माण गर्ने योजना भइरहेको छ,’ उनी लेख्छन्, ‘यो पाइपलाइन रुसको आर्कटिक ग्यास क्षेत्रबाट यामल हुादै मंगोलियामार्फत चीनमा पुग्ने छ । यो विश्वकै दोस्रो लामो ग्यास पाइपलाइन हुनेछ । यसलाई ‘पावर अफ साइबेरिया २’ पनि भनिएको छ । चीनमा लामो समयदेखि ऊर्जा आपूर्तिका लागि फरक-फरक स्रोत र रुटहरु तय गर्ने कोसिस गरिरहेको छ ।’

यस्तोमा रुससँगको सम्बन्ध र साझेदारीमार्फत चीनले आफ्नो लक्ष्य हासिल गर्ने देखिएको छ । चीनको चाहनामा आफ्नो देशमा हुने ऊर्जा आपूर्ति रणनीतिक रुपमा धेरै असुरक्षित मानिने समुन्द्री मार्गबाट नभएर बढी सुरक्षित मानिने सतह मार्गबाट होस् भन्ने छ ।

जसकारण चीनले रुस र मध्य एसियासँग ऊर्जा आपूर्तिका लागि कदमहरु चालिरहेको छ । रुस र चीनको ऊर्जा साझेदारीमार्फत चीनले ऊर्जा सुरक्षालाई थप सुदृढ गर्न खोजिरहेको छ । सरन लेख्छन्, ‘यस्तो कुरा रणनीतिक साझेदारीका रुपमा निकै महत्वपूणर् हुन्छन् ।’

रुसका लागि वस्तु वा सेवा आयात गर्दा हुने आम्दानीको मुख्य स्रोत अहिले चीन र भारत बनेको छ । यस्तोमा चीनसँगको सम्बन्ध बढी निकट हुनु र रुसी नेतृत्वमा पनि चिनियाँ नेतृत्वप्रतिको झुकाव बढी हुनुले भारतसँगको सम्बन्ध र व्यापारिक क्रियाकलापलाई पनि चीनले कुनै न कुनै रुपमा प्रभाव पार्न सक्छ भन्ने आशंका गरिएको छ ।

एक हिसाबले अहिले चिनियाँ नेतृत्वको प्रभावका कारण रुसले भारतलाई दिइरहेका सुरक्षासँग सम्बन्धित वस्तुदेखि प्राकृतिक ग्याससम्मका वस्तुमा असर पर्ने आशंका उत्पन्न भएको छ । रुसलाई मझधारमा राखेर चीनले भारतसँग ‘सफ्ट वार’ गरिरहेको छ ।

हुन त अन्तर्राष्ट्रिय राजनीतिमा विशेष रुचि राख्ने विज्ञ जोरावरसिंह दुलत यस्तो नहुने बताउँछन् । उनी चीनकै प्रभावका कारण रुसले भारतलाई नछाड्ने बताउँछन् ।

‘सैन्य महाशक्ति रुस हो, चीन होइन,’ जोरावरले सरनले लेखेको लेखलाई रिट्विट गर्दै भनेका थिए, ‘प्राकृतिक स्रोतसाधन र सामरिक उत्पादनमाथि रुसको नियन्त्रण छ । चीनको छैन । तर पनि हामीले कसरी चीनको सामुन्ने रुसले घुँडा टेक्ने कुरा गर्न सक्छौं ?’

रुसले एकध्रुवीय दुनियाँपछिको रणनीतिका लागि चीनसँगको साझेदारी बढाउन सक्ने उनी बताउँछन् । तर, यस्तोमा पनि रुसले भारतसँगको सम्बन्धलाई पनि बलियो बनाउँदै लैजाने उनको दाबी छ । उनी भन्छन्, ‘अमेरिकाले मात्रै यस्तो किसिमको ध्यानपूर्वक नीति अपनाउन सक्छ भन्ने हुँदैन ।’

उनी रुसले चीन र भारतलाई सँगसँगै राखेर सम्बन्धलाई सुदृढ बनाउँदै व्यापारिक र रणनीतिक साझेदारीलाई निरन्तरता दिने दाबी गर्छन् ।

चीन र रुसबीच गत वर्ष द्विपक्षीय व्यापार २९.३ प्रतिशतले बढेर १९०.३ अर्ब अमेरिकी डलर पुगेको थियो । सन् २०२१ मा दुई देशबीचको व्यापार १४७ अर्ब अमेरिकी डलर थियो ।

गत वर्ष सन् २०२२ मा चीनमा रुसबाट हुने आयातमा ४३.४ प्रतिशतको वृद्धि भएको थियो भने निर्यात १२.८ प्रतिशतले बढेको थियो । दुई देशबीचको व्यापारमा आएको यो वृद्धिको मुख्य कारण रुसबाट चीनमा भएको ऊर्जा आयातका कारण थियो ।

चीन र रुसबीचको द्विपक्षीय व्यापारको तुलना भारत र रुसबीच भएको व्यापारमा गर्ने हो भने यो निकै कम देखिन्छ । गत वर्ष चीन र रुसबीच १९०.३ अर्बको व्यापार हुँदा भारतसँग रुसको व्यापार जम्मा ३९ अर्ब डलरको थियो । यो पनि अघिल्ला वर्षहरुको तुलनामा धेरै वृद्धि भएको द्विपक्षीय व्यापार हो । तर, चीन र रुसबीच भएको व्यापारको तुलनामा यो निकै कम देखिन्छ ।

रुसको इतिहासमा भारत पहिलो पटक सबैभन्दा धेरै व्यापार भइरहेका पाँच मुलुकमध्येमा भारत परेको छ । युक्रेन संकटको क्रममा भारत र रुसबीचको द्विपक्षीय व्यापारमा वृद्धि भएको थियो । तर, चीनको तुलनामा भने यो कम हो ।

भारतका लागि असहज

अमेरिकास्थित डेलावेयर विश्वविद्यालयका प्राध्यापक मुक्तदर खान पछिल्लो एक वर्षमा रुसलाई युक्रेनमाथि गरेको हमलाका बीच आर्थिक संकटबाट कसैले बचाएको छ भने त्यो भारत र चीन नै भएको बताउँछन् ।

‘युक्रेनमाथि हमला गरेपछि अमेरिका र अमेरिकाका सहयोगी देशले रुसमाथि जुन किसिमले कडा प्रतिबन्ध लगाएका थिए, त्यसबाट बाहिर निस्किन कठिन थियो’, उनी भन्छन्, ‘तर, चीन र भारतले रुसबाट ठूलो परिमाणमा ऊर्जा आयात गर्न थाले । यसबाट नै रुसलाई निकै राहत भएको थियो । तर युक्रेनसँगको लडाइँ यो वर्ष पनि जारी रहेमा रुस आर्थिक रुपमा निकै कमजोर हुनेछ ।’

रुसलाई अहिले हतियार पनि आवश्यक छ । तर, भारतले रुसलाई हतियार दिन सक्दैन । भारत आफैं सैन्य हतियारका लागि रुसमाथि निर्भर छ । रुसलाई भारतले आयात गरेको तेलबाट भारतले नै आम्दानी पनि गरिरहेको थाहा छ ।

जसरी सन् १९७१ मा रुस बंगलादेशलाई छुट्टै देश बनाउन भारतसँगै खुलेर प्रस्तुत भएको थियो, त्यसरी अहिले भारत युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयमा खुलेको छैन । यस्तोमा रुस चीनसँगै साझेदारी गर्ने र सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावना भएको खान बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेको अवस्थामा भारत युक्रेन संकटको विषयमा रुसको समर्थन गर्दै स्पष्ट रुपमा खुलेको छैन । यस्तोमा रुस चीनकै साथमा जानुको अर्को विकल्प देखिँदैन ।’

रुस चीनकै इशारामा चल्ने अवस्था आएमा भारतका लागि कठिनाइ हुन्छ । खानकाअनुसार भारतले अहिलेको अवस्थामा रुसलाई चीनसँग निकट हुनबाट रोक्न पनि सक्दैन । चीन भारतको विरुद्धमा जसरी आक्रामक छ, यसबाट उत्पन्न भइरहेको आशंका चीनले रुसलाई भारतको विषयमा कुनै पनि निर्णय लिनका लागि बाध्य बनाउँछ भन्ने हो ।

खान भन्छन्, ‘रुसबाट भारत आउने रक्षा आपूर्तिलाई पनि रोक्न सक्छ चीनले । यस्तोमा भारतसँग दुई विकल्प छ । एउटा चिनियाँ दबाबकै बीच रहिरहने वा भारत अमेरिकासँग निकट भएर जाने । भारतका लागि दुवै विकल्पहरु स्वतन्त्र विदेशी नीतिको सन्दर्भमा ठिक छैनन् ।’

खानका अनुसार रुस अहिले पनि भारतका लागि रक्षा सामग्री आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो । कमजोर भएको अवस्थामा रुसले भारतलाई यस्ता हतियारको आपूर्ति गर्न सक्दैन । रुसले चाहेमा पनि चीनले त्यसलाई रोक्न सक्छ ।

रुस र चीनबीच निकटता बढ्नु भारतका लागि निकै ठूलो विषय हुनेछ । विश्व समीकरण बदलिरहेको अवस्थामा पश्चिम एसियामा चीनले जे गरिरहेको छ, त्यसको नजिक पनि भारत नरहेको खान बताउँछन् ।

‘भारतसँगको सहकार्यमा रुस विगतको भरमै मात्र रहन सक्दैन,’ खान भन्छन्, ‘सन् १९६२ मा चीनले भारतमाथि हमला गरेको थियो । तब सोभियत युनियन थियो र उसले तटस्थ रहने निर्णय गरेको थियो । तब चीन र सोभियन युनियन अहिलेजस्तो निकट थिएनन । अहिले रुस सोभियत युनियन जस्तै बनेको छ र चीनसँगको सहकार्यमा सबैभन्दा निकट छ । यस्तोमा हामीले सोच्नुपर्ने कुरा रुसले भारत र चीनबीच द्वन्द्व हुँदा कसको साथ दिन्छ भन्ने हो ।’

के साँच्चै भारत फसिसकेको छ ?

रुसमा भारतका राजदूत रहेका डी वाला वेन्कटेस वर्मा अहिले विवेकानन्द इन्टरनेसनल फाउडेसनसँग जोडिएका छन् । शर्माले उक्त फाउन्डेसनको वेबसाइटमा एउटा लेख लेखेका छन् । लेखमा उनले रुस र चीनबीच बढेको निकटतालाई विश्वमा अनावश्यक रुपमा बढाएर हेरिएको बताएका छन् ।

‘सन् २०२२ मा रुस र चीनको व्यापार ३० प्रतिशत जतिले बढेर १९० अर्ब डलरसम्म पुगेको थियो,’ उनले भनेका छन्, ‘यसमा रुसको ट्रेड सरप्लस ३८ अर्ब डलरको थियो । अर्थात रुसले चीनबाट कम किनेर धेरै बेचेको थियो । रुस र चीनको द्विपक्षीय व्यापार भारत र चीनको ट्रेड बास्केटभन्दा निकै फरक छ । पछिल्लो वर्ष भारत र चीनबीच १४० अर्ब डलरको व्यापार भएको थियो । यसमा चीनको पक्षमा १०० अर्ब डलर थियो । अर्थात चीनले भारतलाई १०० अर्ब डलरको सामान बेचेको थियो । सन् २०२२ मा अमेरिका र ईयूसँग चीनको व्यापार १.४ ट्रिलियन डलरभन्दा धेरै थियो । राजनीतिक महत्वका लागि चीन र रुसको व्यापारलाई बढाएर देखाउन सहज छ । तर, यस्तो सन्दर्भमा हेर्ने हो भने फरक तस्बिर देखिन्छ ।’

वर्माका अनुसार रुस र चीनबीचको रणनीतिक साझेदारी भएभन्दा पनि बढाएर देखाउँदा कयौं जोखिम भएका छन् । जसले अहिलेको यो साझेदारीलाई भएभन्दा ठूलो रुपमा हेरिरहेका छन्, उनीहरु भारत अमेरिकासँगको सम्बन्धलाई बृहत् बनाउनतर्फ लाग्नुपर्ने निष्कर्षमा पुग्छन् ।

वर्मा भन्छन्, ‘यस्तोमा अन्य कुरा पनि आउँछन् । भविष्यमा चीनसँग भारतको द्वन्द्व भएमा रुसले भारतको रक्षा आपूर्ति बन्द गरेमा के गर्ने ? भन्ने जस्ता कुरा आउँछन् ।’

यस्ता प्रश्नमा भारतको रक्षा सामग्रीको आपूर्ति पूरा गर्ने रुसको क्षमता र चीनको दबाबमा रुसले आफ्नो पुरानो नीतिलाई नै नकार्ने कुरा पनि सामेल हुन्छ । अमेरिकासँग सम्बन्ध बढाउनुपर्छ भने व्यक्तिहरुले रुसप्रति पूर्वाग्रह राख्न थाल्ने वर्मा बताउँछन् ।

वर्माका अनुसार चीन भारतका लागि चुनौतीका रुपमा अहिले मात्रै देखिएको नभएर कयौं दशकदेखि रहेको छ ।

‘भारतलाई रणनीतिक आत्मविश्वासको आवश्यकता छ, निराशाको होइन,’ उनी भन्छन्, ‘चीनलाई अन्य ठूला शक्तिशाली देशले जस्तो सुरक्षा खतराको रुपमा मात्रै हेर्नु गलत हो । चीन एउटा खतरा हो तर अन्य देशभन्दा फरक छ । भारतले चीनसँग सम्बन्धित आफ्ना नीतिहरुलाई अमेरिकीकरण हुनबाट बचाउनुपर्छ ।’

भनिन्छ, विश्व अहिले तेस्रो शीतयुद्धतर्फ अघि बढिरहेको छ । यसपटक सामुन्ने चीन छ । अमेरिका र पश्चिमा राष्ट्रले चीनलाई खतराको रुपमा हेरिरहेका छन् । उनीहरुले चीनले नियममा आधारित वैश्विक व्यवस्थालाई चुनौती दिइरहेको बताइरहेका छन् । चीन भने अमेरिकालाई आफ्नो लोकतन्त्र बाँकी विश्वसामु थोपर्न बन्द गर्न चेतावनी दिइरहेको छ ।

(बीबीसीबाट)


क्लिकमान्डु