विभिन्न ११ आयोजनाको ठेक्का रद्द गर्दै विद्युत प्राधिकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न निर्माण व्यवसायीलाई दिइएका ११ वटा ठेक्काहरु रद्द गर्ने भएको छ ।

प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयअन्तर्गतको डोटी वितरण केन्द्रले एक सूचना प्रकाशित गर्दै विभिन्न आयोजना निर्माणका लागि दिइएका ११ वटा ठेक्काहरु रद्द गर्न लागेको जनाएको छ ।

विभिन्न स्थानीय तहहरुका विभिन्न स्थानहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएका ११ कम्पनीहरुसँगको ठेक्का सम्झौता रद्द गर्न लागिएको हो ।

रद्द गर्न लागिएका ठेक्का सम्झौताहरुमा आदर्श गाउँपालिकाका विभिन्न स्थानहरुमा एचटी, एल.टी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको डोटीको नेत्र निर्माण सेवा रहेको छ ।

त्यस्तै, नेत्र निर्माण सेवासँग भएका अन्य दुई ठेक्का गरि तीन ठेक्का रद्द गर्न लागिएको छ । सायल गाउँपालिका र बोगटान गाउँपालिकामा पनि सोही कामको ठेक्का सम्झौता भएको नेत्र निर्माण सेवासँगको सम्झौता रद्द गर्न लागिएको छ ।

त्यस्तै, बोगटान गाउँपालिका र बडीकेदार गाउँपालिकाका विभिन्न स्थानहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको मा भगवती निर्माण सेवासँगको दुई ठेक्का सम्झौता रद्द गर्न लागिएको छ ।

त्यस्तै, जोरायल गाउँपालिकामा सोही किसिमको आयोजनाको सम्झौता भएको धुलिखेल एल.बी. एण्ड ए.बी. जेभी, जोरायल गाउँपालिकाकै विभिन्न स्थानहरुमा एच.टी, एल.टी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानको ठेक्का पाएको एल.बी, ए.बी/मा भगवती जे.भी, सायल गाउँपालिकाका विभिन्न स्थानमा आयोजनाको ठेक्का पाएको ऊँ बिरभद्र निर्माण कन्स्ट्रक्सन, जोरायल गाउँपालिका र बडिकेदार गाउँपालिकामा आयोजनाको ठेक्का पाएको मा भगवती निर्माण सेवा, जोरायल गाउँपालिकाको वडा नम्बर १, ४ र ५लगायतमा आयोजनाको ठेक्का पाएको मनकामना निर्माण सेवा एण्ड अर्डर सप्लायर्स र बडिकेदार गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा ठेक्का सम्झौता भएको एस.एस कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँगको ठेक्का सम्झौता रद्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको सूचनाकाअनुसार यी निर्माण व्यवसायी तथा कम्पनीहरुले तोकिएको समयमा काम नसकेको र हालसम्म पनि काम सन्तोषजनक नदेखिएकाले उनीहरुसँग भएको ठेक्का रद्द गर्न लागिएको जनाएको छ । यी कमपनीहरुलाई आगामी सात दिनको समय दिँदै ठेक्का सम्झौता रद्द नगर्नुपर्ने कारण पेश गर्न पनि सूनामा निर्देश दिइएको छ ।


क्लिकमान्डु