मिटरब्याज पीडितका समस्या समाधानका लागि जाँचबुझ आयोग गठन
काठमाडौं । सरकारले मिटरब्याज पीडित समस्या समाधानका लागि गौरीबहादुर कार्कीको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगमा उत्तमराज सुवेदी र गणेश अर्याल सदस्य छन् ।
मिटरब्याजी समस्या पहिचान तथा समाधानका लागि ठोस र व्यावहारिक सुझाव दिन आयोगलाई ३ महिनाको समय दिइएको छ । आयोगको मुख्यालय जनकपुरमा रहनेछ ।
मिटरब्याज पीडित संघर्ष समितिसँग शनिबार मिटरब्याज पीडितका समस्या सम्बोधनका लागि सहमति भएपश्चात बस्ने मन्त्रिपरिषदको पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन गर्न सरकारसमक्ष सिफारिस गर्ने सहमति भएको थियो ।
त्यस्तै मन्त्रिपरिषद बैठकले सुराकी खर्च परिचालनसम्बन्धी कार्यविधि पनि खारेज गर्ने निर्णय गरेको छ । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार पदभार ग्रहणका क्रममा सुराकी खर्च परिचालनसम्बन्धी कार्यविधि खारेज गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
२०४७ जेठदेखि गृहमन्त्री र गृह सचिवले सुराकी परिचालनका नाममा पैसा लिँदै आएका थिए । २०४६ देखि अहिलेसम्मका गृहमन्त्री र गृहसचिवले सुराकीका नाममा सरकारी ढुकुटीबाट २४ करोड ५० लाख रुपैयाँ बुझिसकेको गृह मन्त्रालयले जनाएको छ ।
(यसअघि भुलवस समिति लेखिएकोमा सच्याइएको छ : सम्पादक)