रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी



काठमाडौं । रासायनिक मल, पेट्रोलियम पदार्थ र सुनबाहेक अधिकांश वस्तुको आयातमा कमी आएको छ । चालू आर्थिक वर्षको ८ महिनामा गत वर्षको सोही अवधिको तुलनामा अधिकांश वस्तुको आयात घटेको हो ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ८ महिनामा रासायनिक मलको आयात ११७ प्रतिशतले बढेको छ । गत वर्षको ८ महिनामा नेपालले १२ अर्ब ७४ करोड ९८ लाख रुपैयाँको रासायनिक मल आयात गरेको थियो । चालू आवको सोही अवधिमा २७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँको आयात भएको छ ।

त्यस्तै सुनको आयात ९.७ प्रतिशतले बढेको छ । नेपालले ८ महिनाको अवधिमा ३५ अर्ब ८६ करोड १५ लाख रुपैयाँको आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ३२ अर्ब ६८ करोड ४१ लाख रुपैयाँको आयात गरेको थियो ।

पेट्रोलियम पदार्थको आयात पनि ९.६ प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि फागुनसम्ममा १ खर्ब ८४ अर्ब ९८ करोड ४९ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएकोमा चालू आवको सोही अवधिमा २ खर्ब २ अर्ब ८१ करोड १२ लाख रुपैयाँको आयात भएको छ ।

उल्लिखित तीन वस्तुबाहेक अन्य वस्तुको आयात भने ३ प्रतिशतदेखि शतप्रतिशतसम्म घटेको केन्द्रले जनाएको छ । बजारमा अहिले आर्थिक संकुचनका कारण अधिकांश वस्तुको माग घटेको छ । जसको प्रत्यक्ष असर आयात देखिएको छ ।

चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा चाँदीको आयात उच्च कमी आएको छ । गत वर्ष चाँदी उच्च आयात भएको भन्दै पैठरीमा सरकारले कडाइ गरेको थियो । गत वर्षको ८ महिनाको अवधिमा १५ अर्ब ३६ करोड ६४ लाख रुपैयाँको चाँदी आयात भएको थियो । तर, यो वर्षको सोही अवधिमा नेपालले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँको मात्रै आयात भएको छ ।

समीक्षा अवधिमा सवारी साधन र पार्टपुर्जा आयातमा ५७ प्रतिशतले कमी आएको छ । सरकारले सवारी साधनको आयातमा कडाइ गरेसँगै बजारमा माग नहुँदा सवारी साधन क्षेत्रको व्यापारमा उच्च प्रभाव परेको छ ।

सरकारले सवारी साधनको आयातमा ८ महिना प्रतिबन्ध गरेको थियो । गत पुसदेखि आयात खुला गरेको थियो । तर, आर्थिक संकुचनले माग नहुँदा आयातमा कमी आएको अटोमोबाइल व्यवसायीको भनाइ छ ।

केन्द्रका अनुसार गत वर्ष नेपालले ७५ अर्ब ९५ करोड १० लाख रुपैयाँको सवारी साधन ताथ पार्टपुर्जा आयात गरेकोमा यो वर्ष ३२ अर्ब ६५ करोड ९८ लाख रुपैयाँको आयात गरेको छ ।

८ महिनाको अवधिमा औषधीजन्य वस्तुको आयातमा पनि ४३.९ प्रतिशतले कमी आएको छ । गत वर्षको ८ महिनाको अवधिमा ५२ अर्ब २२ करोड ६८ लाख रुपैयाँको औषधीजन्य वस्तु आयात गरेको यो वर्षको सोही अवधिमा २९ अर्ब ३२ करोड ३६ लाख रुपैयाँको मात्रै आयात गरेको छ ।

टेलिकम्युनिकेसनको सामग्री तथा पार्टको आयात पनि ३८.७ प्रतिशतले घटेको छ । नेपालले गत वर्षको फागुनसम्ममा ३९ अर्ब ८४ करोड ६४ लाख रुपैयाँको यस्तो सामान आयात गरेकोमा यो वर्ष २४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँको आयात गरेको छ ।

त्यसैगरी, भारतले कच्चा खानेतेलको आयातमा भन्सार महसुल शून्य प्रतिशत बनाएसँगै त्यसको प्रत्यक्ष असर नेपालको आयातमा देखिएको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा भटमासको तेल आयात गरी भारततर्फ निकासी गर्दै आएको थियो ।

तर, भारत सरकारले उपभोक्ताले खरिद गर्ने मूल्य उच्च भएको भन्दै कच्चा तेलको भन्सार शुल्क घटाउँदा नेपालबाट तेल निकासीमा कमी आएको छ । साथै, आयातमा पनि ३६.७ प्रतिशतले घटेको छ ।

नेपालले गत वर्षको फागुनसम्ममा ४३ अर्ब ७४ करोड ६७ लाख रुपैयाँको आयात गरेकोमा यो वर्षको सोही अवधिमा २७ अर्ब ६७ करोड ६४ लाख रुपैयाँको मात्रै आयात गरेको छ ।

केन्द्रको तथ्यांकअनुसार कच्चा पाम आयलको पनि आयात ३४.७ प्रतिशतले घटेको छ । गत वर्ष नेपालले ३० अर्ब ८२ करोड रुपैयाँको आयात गरेको यो वर्ष २० अर्ब ११ करोड ३१ लाख रुपैयाँको आयात गरेको छ । त्यसबाहेक मुख्य आयातित वस्तुको आयातमा ३ प्रतिशतदेखि ३३ प्रतिशतसम्म आयातमा कमी आएको छ ।


क्लिकमान्डु