आठ महिनामा साढे ९ खर्ब व्यापार घाटा, वैदेशिक व्यापारमा २० प्रतिशत गिरावट



काठमाडौं । नेपालले चालू आर्थिक वर्षको आठ महिनामा साढे ९ खर्ब व्यापार घाटा गरेको छ । आठ महिनामा १० खर्ब ५८ अर्बको वस्तु तथा सेवा आयात गरेको नेपालले १ खर्ब ४ अर्बको निर्यात गरेको हो ।

समीक्षा अवधिमा निर्यात व्यापार गत वर्षको भन्दा २९ प्रतिशतले घटेको छ भने आयात व्यापार १९ प्रतिशतले घटेको छ । त्यस्तै समग्र वैदेशिक व्यापारमा २० प्रतिशतको गिरावट आएको छ ।

गत वर्षको साउनदेखि फागुनसम्ममा १४ खर्ब ५६ अर्बको वैदेशिक व्यापार भएकोमा चालू आवको सोही अवधिमा ११ खर्ब ६३ अर्बको व्यापार भएको हो ।

चालू आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थ आयातका लागि १ खर्ब ९६ अर्ब रुपैयाँ बाहिरिएको छ । भन्सार विभागका अनुसार यो अवधिमा ९८ अर्ब ९५ करोडको डिजेल, ४४ अर्ब १५ करोडको पेट्रोल, ३८ अर्ब ७२ करोडको ग्यास र १४ अर्ब ५१ करोड रुपैयाँको हवाई इन्धन आयात भएको छ ।

समीक्षा अवधिमा ६ अर्ब १६ करोड रुपैयाँबराबरका २२ सय वटा विद्युतीय गाडी नेपालमा आयात भएका छन् । भारतबाट सबैभन्दा धेरै ४ अर्ब २५ करोडका विद्युतीय सवारी भित्रिएका छन् । त्यस्तै कोरियाबाट ९७ करोड ५६ लाखका र अमेरिकाबाट २ करोड २७ लाखका विद्युतीय सवारी साधन आयात भएका छन् ।

यो अवधिमा २५ अर्ब ७८ करोड रुपैयाँको धानचामल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु