सञ्चालनमै नरहेको नर्सरीलाई सहकारीको अनुदान, अध्यक्षसहित १२ जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमनाथ कृषि विकास सहकारी संस्था कालिकोटका अध्यक्षसहित १२ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कृषि ज्ञान केन्द्र, कालिकोट (हाल कृषि विकास कार्यालय, कालिकोट)का तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, मूल्याङ्‍कन तथा छनोट समितिका पदाधिकारी, सिमनाथ कृषि विकास सहकारी संस्था, कालिकोटका अध्यक्षसमेत १२ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार सिमनाथ कृषि विकास सहकारी संस्था रास्कोट–३, कालिकोटले उच्च प्रविधियुक्त नर्सरी स्थापनाको लागि उपलब्ध गराएको सरकारी अनुदानको पेश्की रकममा सम्झौता अनुसार काम नगरी हिनामिना गरेको भन्ने उजुरी परेको थियो ।

त्यही उजुरीका आधारमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, कालिकोटका तत्कालीन निमित्त कार्यालय प्रमुख भरत बहादुर बस्नेत, खाँडाचक्र नगरपालिका, कालिकोटका तत्कालीन इन्जिनियर सुमित भट्ट र खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, कालिकोटका तत्कालीन सव–इन्जिनियर गुरुराज संज्यालले सम्भाव्यता अध्ययन नगरी आयोजनाका लागि आवश्यक विद्युत आपूर्तिसमेत नभएको अवस्थामा हाइटेक नर्सरी सञ्चालन गर्न उपयुक्त छ भन्दै सिफारिस गरेको पाइएको छ ।

हचुवाको भरमा लागत अनुमान तयार गरेको र हाइटेक नर्सरीको लागी खरिद गरिएका यन्त्र उपकरणहरूको मूल्य अत्याधिक बढाई सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११ विपरीत बदनियत पूर्वक मूल्य राखी लागत अनुमान तयार गरेको एवं कर्णाली प्रदेश सरकारको अनुदान ग्रहण गरी नर्सरी सञ्चालनमै नआएको अवस्थामा सिमनाथ कृषि विकास सहकारी संस्थाबाट जडान भएका मालसामानहरूको अवलोकन तथा परीक्षण नै नगरी कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आयोगको दाबी छ ।

त्यसकै आधारमा ६६ लाख ५० हजार भुक्तानी गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (घ) र (ङ) बमोजिमको कसुर गरेको भन्दै आयोगले बस्नेत, भट्ट र संज्याललाई बिगो ६६ लाख ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ८(१) बमोजिम सजायको माग गरिएको छ ।


क्लिकमान्डु